प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई २० वर्षको उमेरमै विवाह गरेर ३० वर्षभित्र तीन सन्तान जन्माउन सुझाव दिएका छन्।
शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रममा बोल्दै ओलीले प्रजनन क्षमताको उपयुक्त समयमै सन्तान जन्माउनुपर्ने धारणा राखे। “मेरा सन्तान छैनन्, किन भएनन् भनेर उपचार पनि गराइन,” भन्दै उनले अत्यधिक व्यस्तता जीवनशैलीको कारण सन्तान हुन नसकेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरिसकेको स्मरण गराउँदै युवालाई समयमा विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्ने बताए। “३० वर्षभित्र तीन सन्तान पाइसक्न र ४० कटेपछि रमाउला भन्ने गीतमा अल्झिनु हुन्न,” उनले भने।
उनले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित विकास नभए मानव अस्तित्व नै संकटमा पर्ने चेतावनी दिए। “जनसंख्या हुँदैनथ्यो भने देश नै हुँदैनथ्यो,” भन्दै उनले जनसङ्ख्यालाई धर्तीप्रतिको उत्तरदायित्वको रूपमा बुझ्नुपर्ने धारणा राखे।
शक्तिशाली राष्ट्रहरू आफ्ना स्वार्थका लागि जनताको हत्या गरिरहेको आरोप लगाउँदै ओलीले भने, “मानव जाति सृष्टिको सबैभन्दा मूल्यवान अस्तित्व हो, कृपया मान्छे मार्ने यो धन्दा बन्द गर।”
सन्तान नपाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले “सन्तान नजन्माऊ, डाँडाकाँडा नढाक” भन्ने चेतना फैलाउँदा उल्टै सन्तान नपाउने अवस्था सिर्जना भएको भन्दै त्यसले भविष्यमा जनसङ्ख्याको असन्तुलन निम्त्याउने खतरा औंल्याए।
उनले विकासशील देशहरूमा समेत जनसंख्या ऋणात्मक बन्दै गएको उल्लेख गर्दै राष्ट्रिय जनसङ्ख्या नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।