संविधानसभा निर्वाचनपूर्वको सन्दिग्ध बम विस्फोट घटनाका मुख्य साक्षी गौरीशंकर राम चमारको पीडा अझै ताजै छ। २०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटमा गम्भीर घाइते भएका भारतको सीतामढीका ४३ वर्षीय चमार अदालतको हालैको फैसलाप्रति गहिरो असन्तुष्टि जनाउँदै न्यायको गुहार गरिरहेका छन्।
उक्त घटनामा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई उच्च अदालत वीरगञ्जले यथेष्ट प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ। तर गौरीशंकर चमार भने आफू उक्त विस्फोटमा घाइते भएको र बम विस्फोट आफैंले देखेको स्पष्ट रूपमा बताउँछन्।
“बम पड्किएको हो, कान उडे, अनुहार जले: म आफैं बाँचेको प्रमाण हुँ”
गौरीशंकरको कथनअनुसार, उनी सो दिन पैसा लिन अफ्ताब आलमको घर गएका थिए। त्यहीँ बम बनाउने क्रममा अचानक विस्फोट हुँदा उनी गम्भीर घाइते भए।
“दुवै कान उडे, अनुहार, छाती, घाँटी जले। म कसरी बाँचें, थाहा छैन,” उनी भन्छन्, “पानीमा हाम फालेँ, होस खुल्दा सीतामढीको अस्पतालमा थिएँ।”
घटनापछि तीन महिना उपचार गराउँदा तीन लाख ५० हजार भारतीय रुपैयाँ खर्च भए पनि अफ्ताब आलम वा उनको पक्षबाट एक पटक पनि सोधपुछ नगरेको उनले गुनासो गरे।
“धेरै मान्छे मरेको सुनें, मलाई गाउँका मान्छेले बाँचाएको हो। अफ्ताबका मान्छेले उल्टै धम्की दिए – तेरो छोरा अब बाँच्छैन,” उनले भने।
अदालतको फैसलाप्रति आक्रोश
उच्च अदालत वीरगञ्जले उक्त घटनामा बम विस्फोट भएको प्रमाणित नभएको भन्दै आलमलाई सफाइ दिएको छ। तर गौरीशंकर यो फैसलाले आफूजस्ता पीडितलाई अपमानित तुल्याएको बताउँछन्।
“बम त पड्किएको हो, म आफैंमा बम लागेको हो, मैले सहें, मेरो शरीरमै प्रमाण छ। अब अदालतले त्यसलाई प्रमाण मानेन भने हाम्रो पीडा के हो?” उनी भन्छन्।
“म मर्ने कि बाँच्ने थाहा छैन, तर न्याय पाउनुपर्छ”
शारीरिक रूपमा अशक्त भइसकेका गौरीशंकर आज रोजगारी गर्न पनि असमर्थ छन्। “काम पाउँदिन, काम गर्न सक्दिन। कसरी बाँचौं? मलाई डर लागिरहेको छ। उसले फेरि केही गर्यो भने?” भन्दै उनी भावुक हुँदै आँशु झार्छन्।
अब उनी सरकारसँग आग्रह गर्छन् “त्यस्तो मान्छेलाई सजाय दिनुपर्छ। पीडितलाई नाइंसाफी नहोस्। मलाई न्याय चाहिएको हो।”