नेपाल पत्रकार महासंघ, मधेश प्रदेशको कार्यालय जनकपुरधाम उपमहानगरपालिका–२, भानुचोक नजिकै भाडाको घरमा स्थापना गरिएको छ। सो कार्यालयको उद्घाटन भंगहा नगरपालिकाका नगरप्रमुख संजिवकुमार साहले एक विशेष समारोहका बीच गरेका हुन्।
कार्यालय सञ्चालनका लागि भंगहा नगरपालिकाले फर्निचर, एसी, इन्भर्टर लगायत सामग्री सहयोग गरेको छ भने जनकपुरधाम उपमहानगरपालिकाले कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी उपलब्ध गराएको महासंघका प्रदेश महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले जानकारी दिए।
स्थानीय सरकारको सहयोग र प्रतिबद्धता
उद्घाटन समारोहमा प्रमुख अतिथि मेयर साहले सञ्चार क्षेत्रको सुदृढीकरणमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले पत्रकारहरूलाई तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्दै पूर्वाग्रही र पित्तपूर्ण लेखनबाट जोगिन सुझाव दिए। साथै, आगामी दिनमा पनि महासंघलाई निरन्तर साथ रहने प्रतिबद्धता जनाए।
भविष्यमा स्थायी भवनको योजना
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहालले तत्कालका लागि भाडाको घरमा सञ्चालन गरिएको यो कार्यालय भविष्यमा आफ्नै जग्गामा स्थायी र सुविधासम्पन्न भवनका रूपमा निर्माण हुने विश्वास व्यक्त गरे। उनले प्रदेश समितिलाई केन्द्रको निरन्तर सहयोग रहने आश्वासन पनि दिए।
महासंघ मधेश प्रदेश अध्यक्ष रामकुमार बञ्जाराले भंगहा नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै यस कार्यालयले मधेशमा पत्रकारिता क्षेत्रमा नयाँ ऊर्जा र दिशा दिने विश्वास व्यक्त गरे। उनले कार्यकालभित्रै आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्यमा आफूहरू लागिपरेको बताए।
विशिष्ट सहभागिता र शुभकामना मन्तव्य
कार्यक्रममा महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख डीआईजी कृष्णराज ढकाल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, महासंघका केन्द्रीय सदस्यहरू, विभिन्न जिल्ला अध्यक्षहरूलगायतले शुभकामना मन्तव्य दिएका थिए।
समारोहमा सञ्चारकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।