नेपाली महिला फुटबल टोलीले उज्वेकिस्तानको मिल्ली रंगशालामा शनिवार राति खेलेको निर्णायक खेलमा जुझारु प्रदर्शन गरे पनि अन्ततः टाइब्रेकरमा पराजित भई एएफसी महिला एसियन कप २०२६, फिफा महिला विश्वकप २०२७ र लस एन्जलस ओलम्पिक २०२८ को छनोटको यात्रा गुमाएको छ।
खेलको सुरुआतमा उज्वेकिस्तानसँग ३–१ ले पछि परेको नेपाली टोलीले अद्भुत पुनरागमन गर्दै ३–३ को बराबरीमा खेललाई टाइब्रेकरसम्म पुर्याएको थियो। कप्तान सावित्रा भण्डारीको ह्याट्रिक प्रदर्शनले नेपाललाई खेलमा जोगाएर राखे पनि टाइब्रेकरमा सावित्राको पहिलो प्रहार बारमा लागेर फर्किँदा दुर्भाग्यले साथ दिएन।
गोलकिपर अन्जना रानामगरको प्रहार विपक्षी गोलकिपरले रोक्दै गर्दा उज्वेकिस्तानले चारै पेनाल्टी गोलमा परिणत गर्यो र ४–२ को जितसहित अघि बढ्न सफल भयो।
नेपाली टोलीको हार अझ पीडादायक यस कारण बन्यो कि भारत र बाङ्ग्लादेशजस्ता छिमेकी टोलीहरू यसअघि नै एसियन कपमा छनोट भइसकेका छन्। नेपाल भने फेरि पनि अन्तिम घडीमा चुक्यो।
चुनौतीपूर्ण यात्रा
५१ औं स्थानको उज्वेकिस्तानविरुद्ध १०० औं स्थानको नेपालका लागि प्रतिस्पर्धा सजिलो थिएन। भर्खरै प्रशिक्षक बनेका बेल्जियन प्याट्रिक डे वाइल्डको नेतृत्वमा नेपाली टोलीले प्रारम्भिक चरणमा लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरिसकेको थियो।
तर अन्तिम खेलमा उज्वेकिस्तानका शारीरिक रूपमा बलिया खेलाडीहरूसामु सुरुआतमै नेपाली खेलाडीहरू दवाबमा देखिए।
पहिलो दुई मिनेटमै उज्वेकिस्तानले पहिलो गोल गर्यो। त्यसपछि डिफ्लेक्सन र पेनाल्टीमार्फत दोस्रो र तेस्रो गोल भएको थियो।
कप्तानको ह्याट्रिक, टोलीको साहस
यद्यपि, सावित्रा भण्डारीले कप्तानी जिम्मेवारी निभाउँदै पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरिन्। उज्वेक खेलाडी नोजिमाखोन इर्गासेबाले दोस्रो पहेँलो पाएर मैदान छाडेपछि नेपालले खेलमा दबाब बनाएको थियो।
टोलिमा सुरुवातदेखि नै आन्तरिक मनमुटाव — विशेषतः कप्तानी चयनमा विवाद — रहेको कुरा बाहिरिएको थियो। तर मैदानमा महिला खेलाडीहरूको जुझारुपन, टिमवर्क र संघर्ष प्रशंसनीय रह्यो।
प्रशिक्षकको प्रतिक्रिया
खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक वाइल्डले नेपाली टोलीलाई ‘फरक र साहसी’ भन्दै प्रशंसा गरे। उनले भने, “नेपाली महिला टोली अहिले परिवर्तनको चरणमा छ। भविष्यमा यो टोली अझ राम्रो नतिजा ल्याउनेछ।”
तर, टाइब्रेकरको दुर्भाग्यले नेपाली महिला टोलीको एउटा ठूलो सपना फेरि पनि अधुरै रह्यो।