वीरगन्जका पुरानो क्लवहरु मध्ये नारायणी स्पोर्टस क्लब अब वडाको मातहत संचालन हुने भएको छ । २०२८ सालमा स्थापना भएको क्लव अब वडा मातहत संचालन हुने जनाइएको हो ।
जनप्रतिनिधि बिहिन अवस्थामा स्थानीयहरुले वडा नागरिक मञ्चको गठन गरी नारायणी स्पोर्टस क्लबमा कुमारबन्धु रुपाखेतीलाई अध्यक्ष बनाएका थिए । लगत्तै वडावासीको सहयोगमा आवश्यक सामान खरिद गरी अफिस संचालन गरिएको पनि स्थानीयको भनाइ छ । नारायणी स्पोर्टस क्लबको जिर्णरहेको पुरानो भवन हटाई सोही स्थानमा मुख्य मन्त्री लालबाबु गद्दीको संसदीय विकास कोषमार्फत ८० लाख रुपैयाँको लागतमा २०८० सालमा एकतले भवन र बाँकी २ तल्ला २०८१ सालमा निर्माण सम्पन्न भए पनि यसको व्यवस्थित संचालनका लागि भने केही कमजोरी रहेको थियो ।
सो भवन निर्माणकालागि रवि विक्रम शाह (शिवराजा) ले जग्गादान गरेका थिए । भवन निर्माणपछि केहि व्यक्तिले भवन आफ्नो नियन्त्रणमा राखी संस्थागत उद्देश्य विपरित प्रयोग गर्दै आएको स्थानीयले आरोप छ । भवन निर्माण भएको दुई वर्ष बित्दा पनि भवन कुनै काममा प्रयोगमा नआएपछि स्थानीयहरुले वडा कार्यालयमा पुगी वडाध्यक्ष प्रदिप चौरसियासँग गुनासो गरेको खलेको छ । स्थानीयको गुनासो दिन प्रतिदिन आउन थालेपछि सार्वजानिक सम्पत्तिको संरक्षण गर्न वडा अध्यक्ष चौरसियाले चासो देखाएको बुझिएको छ ।
सार्वजानिक सम्पत्ति ऐनको दफा ११ को २, ५३ र ९७ अनुसार सार्वजानिक सम्पत्तिहरु मठ मन्दिर, पार्टी पौवा, खोला मैदान, बाटोघाटो जस्ता अतिक्रमित सम्पत्तिहरुलाई स्थानीय सरकार तथा स्थानीय वडाले संरक्षण गर्न पाउने हक सुनिश्चित गरे अनुसार अतिक्रमित नारायणी स्पोर्टस क्लबलाई वडा कार्यालय मार्फत ल्याउन पहल चालेको वडाअध्यक्ष चौरसियाको दावी छ । कानूनी रुपमा पहल चालेको ३५ दिनपछि जिल्ला प्रशासन, महानगर प्रहरी र स्थानीय वडावासी र जनप्रतिनिधीहरुको रोहबरमा नारायणी स्पोर्टस क्लबको ताला खोलिएको वडा अध्यक्ष चौरसियाले बताए ।
खेलकुद प्रवद्र्धन, युवा सशक्तिकरण र सामाजिक गतिविधिका लागि यो क्लबलाई केन्द्रको रुपमा बनाउने योजना रहेको पनि वडाअध्यक्ष चौरसियाको भनाइ छ । सार्वजानिक सम्पत्ति स्थानीय वडावासीको हितमा हुनुपर्ने भएकोले भवन संरक्षण र आर्थिक श्रोतकालागि न्युनतम शुल्कमा वडावासीलाई प्रयोग गर्न दिइने तयारी रहेको पनि वडाध्यक्ष चौरसियाले बताए । अहिलेसम्म नारायणी स्पोर्टस क्लबलाई नबिकरण समेत नगरीकन बेवारिसे अवस्थामा पु¥याएले यसको व्यवस्थित संचालनका लागि वडाले अग्रसरता देखाउने पनि वडाध्यक्ष चौरसियाको भनाइ छ ।