वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। सोमबार महानगरको १७ औँ नगरसभामा उपप्रमुख इम्तियाज आलमले चालु वर्षको तुलनामा करिब ३३ करोड रुपैयाँले बढाइएको बजेट प्रस्तुत गरेका हुन्।
महानगरले चालु आर्थिक वर्षमा २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको थियो। नयाँ बजेटमा चालू खर्चतर्फ २ अर्ब २६ करोड ५० लाख ४९ हजार (७०.२४ प्रतिशत), पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख (२८.६४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ करोड ६४ लाख (१.१२ प्रतिशत) विनियोजन गरिएको छ।
बजेटका स्रोतमध्ये आन्तरिक राजस्वबाट १ अर्ब १५ करोड, सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ३७ करोड ३० लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश सरकारबाट ६ करोड ९५ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट २५ करोड र नगद मौज्दातबाट १५ करोड रहने उपप्रमुख आलमले जानकारी दिए।
बजेटका प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, भौतिक पूर्वाधार निर्माण तथा डिजिटल सेवा प्रवाह राखिएको जनाइएको छ।
सभामा मेयर राजेशमान सिंहले ९० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै 'अलौ पर्व सङ्ग्रहालय', 'रेल्वे म्युजियम', 'बिपी उद्यान', 'महानगर नमुना अस्पताल', 'महानगर फार्मेसी' जस्ता योजना सार्वजनिक गरे। साथै, प्रत्येक विद्यालयमा स्मार्ट कक्षा, ल्यापटप, प्रिन्टर, निःशुल्क कोचिङ, पुस्तकालय विस्तार, भोजपुरी सम्मेलन लगायत कार्यक्रम समावेश गरिएको छ।
महानगरको समृद्धि र रूपान्तरणलाई ध्यानमा राख्दै वीरगञ्जलाई “वैभव वीरगञ्ज” को रूपमा विकास गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सभामा मेयर सिंहको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।