इरानको मिसाइल आक्रमणले बिहीबार बिहान इजरायलको दक्षिणी क्षेत्रस्थित सोरोका मेडिकल सेन्टरमा गम्भीर क्षति र घाइतेको संख्या धेरै भएको इजरायली सरकारी प्रवक्ताले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सो आक्रमणको "गम्भीर मूल्य चुकाउने" चेतावनी दिएका छन्।
इजरायलको दक्षिणमा रहेको सोरोका मेडिकल सेन्टर मुलुकको सबैभन्दा ठूलो अस्पतालमध्ये एक हो। इरानबाट प्रक्षेपित ब्यालिस्टिक मिसाइलले अस्पताललाई लक्षित गर्दै सीधा प्रहार गरेको बताइएको छ।
इजरायली सञ्चारमाध्यमहरूमा प्रसारित फुटेजहरूमा अस्पतालको सिसा फुटेका झ्यालहरू, बाक्लो कालो धुवाँ, र अफरातफरी देखिन्छ। सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको भिडियोमा धुवाँले भरिएको करिडोरमा दौडिरहेका स्वास्थ्यकर्मी, र भाँचिएका कुर्सी-बेञ्च तथा भुइँभरि सिसाका टुक्रा देखिन्छन्। केही भिडियोमा घाइते बिरामी र कर्मचारीहरू रोइरहेका, चिच्याइरहेका दृश्यहरू पनि देखिन्छन्।
इजरायल सरकारको आधिकारिक X (ट्विटर) मा पोस्ट गर्दै भनिएको छ, “इरानी शासनले बेर्सेबास्थित सोरोका अस्पताललाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गर्यो। यो प्रमुख स्वास्थ्य संस्थामा हमला भयो। हामी चुप लागेर बस्ने छैनौं—हामी हाम्रा नागरिकको सुरक्षा गर्न आवश्यक सबै काम गरिरहनेछौं।”
प्रधानमन्त्री नेतन्याहूले आक्रमणको निन्दा गर्दै भने, “आज बिहान, इरानका आतंकवादी शासकहरूले बेर्सेबाको सोरोका अस्पताल र केन्द्रिय इजरायलका सर्वसाधारण बस्तीमा मिसाइल प्रहार गरे।”
तेल अवीवमा समेत इरानी मिसाइल आक्रमण भएका छन्। एक उच्च आवासीय भवनमा प्रहार हुँदा एक अस्पतालमा १६ जना घाइते भर्ना भएका छन्, जसमा ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
सोरोका अस्पतालमा १,००० भन्दा बढी बेड रहेका छन् र दक्षिण इजरायलका १० लाखभन्दा बढी जनसंख्यालाई सेवा प्रदान गर्दै आएको छ। एपी (AP) का अनुसार, आक्रमणको जोखिम देखिएपछि इजरायलका धेरै अस्पतालहरूले आपतकालीन प्रोटोकल लागू गरेका थिए। तीमध्येको उपायमा भुइँतलामा रहेका पार्किङहरूलाई उपचार कक्षमा रुपान्तरण गर्नु र भेन्टिलेटरमा रहेका बिरामीहरूलाई सुरक्षित स्थानमा सार्नु पर्दथ्यो।
यो हमला इजरायलले इरानको आराक स्थित भारी पानी न्यूक्लियर रिएक्टरमाथि हवाई आक्रमण गरेपछि केही घण्टामै भएको हो। हालैका दिनमा इजरायलले इरानी सैन्य संरचना, वरिष्ठ कमाण्डरहरू र आणविक विज्ञहरूलाई लक्षित गर्दै हवाई आक्रमण शुरू गरेको थियो, जसपछि दुवै मुलुकबीच तनाव चुलिएको छ।
इरानले जवाफस्वरूप सयौं मिसाइल र ड्रोनहरू इजरायलमा प्रक्षेपण गरिसकेको छ। यद्यपि इजरायलको बहुस्तरीय हवाई सुरक्षा प्रणालीले अधिकांश हमला निस्तेज गरेको दाबी गरिएको छ, अधिकारीहरूका अनुसार, सिष्टम पूर्ण सुरक्षित भने छैन, विशेषतः जब नागरिक र रणनीतिक संरचनामाथि एकसाथ आक्रमण हुन्छ। (रॉयटर्स)