इरान र इजरायलबीचको भीषण युद्ध पाँचौँ दिनमा प्रवेश गरेको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानका बासिन्दालाई तत्काल राजधानी खाली गर्न अपील गरेका छन्। उनले इरानले आणविक हतियार नियन्त्रणसम्बन्धी प्रस्तावित सम्झौता अस्वीकार गरेकाले यस्तो अवस्था आएको बताएका छन्।
क्यानडामा जारी जी–७ सम्मेलनका विश्व नेताहरूले क्षेत्रीय तनाव घटाउन आग्रह गरेका छन्। उनीहरूले इरानलाई अस्थिरताको स्रोतको रूपमा चिनाउँदै उसले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नहुने बताएका छन्। साथै, इजरायललाई आत्मरक्षा गर्ने अधिकार रहेको उनीहरूको भनाइ छ।
राष्ट्रपति ट्रम्प सम्मेलनबीचमै अमेरिका फर्किएका छन्। फ्रान्सेली राष्ट्रपति एम्यानुएल म्याक्रोंले अमेरिकाले युद्धविराम प्रस्ताव अघि सारेको दाबी गरे पनि ट्रम्पले यसलाई अस्वीकार गरेका छन्। “गलत! उनलाइ म किन फर्केको थाहा छैन। तर त्यो युद्धविरामसँग सम्बन्धित होइन। यसभन्दा धेरै ठूलो विषय हो,” ट्रम्पले आफ्नो ‘ट्रुथ सोसियल’मा लेखेका छन्।
तेहरानमा विस्फोट, नताञ्जमा हवाई हमला
इरानी सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान तेहरानमा भारी वायु रक्षा प्रणाली सक्रिय गरिएको थियो। तेहरानको पूर्वी क्षेत्रमा आकाशमा धुँवा देखिएको र विस्फोट भएको बताइएको छ। नताञ्जको आणविक केन्द्र नजिक पनि आक्रमण भएको खबर आएको छ।
इस्राइलले इरानको सरकारी प्रसारण संस्था ‘आईआरआईबी’ लाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ। उक्त क्षणको फुटेजमा समाचारवाचक विस्फोटपछि दौडेर भाग्दै गरेको देखिन्छ। उक्त हमलामा कम्तीमा ३ जनाको मृत्यु भएको इरानले जनाएको छ।
इस्राइलले थप सैन्य लक्ष्यहरू, हतियार गोदाम र क्षेप्यास्त्र प्रक्षेपणस्थलहरूमा पनि आक्रमण गरेको जनाएको छ।
तेलअवीव, यरुशलेम र हर्जेलिया सहरहरूमा पनि मध्यरात र बिहानको समयमा भारी विस्फोटहरू सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
हताहत र क्षति
इरानी अधिकारीहरूले हालसम्म २२४ जनाको मृत्यु भएको जनाएका छन्, तीमध्ये अधिकांश सर्वसाधारण रहेका छन्। उता इजरायलले २४ नागरिक मारिएको जनाएको छ। इस्रायली वित्तमन्त्री बेजेलेल स्मोटरिचका अनुसार करिब ३,००० जना इजरायलीलाई सुरक्षित स्थानमा सारिएको छ।
कूटनीतिक प्रयास जारी
रॉयटर्सका अनुसार इरानले ओमान, कतार र साउदी अरबलाई ट्रम्पसँग इजरायली प्रधानमन्त्री नेतन्याहूलाई युद्धविराममा सहमत गराउन आग्रह गर्न भनेको छ। त्यसको सट्टामा इरान आणविक वार्तामा लचिलो हुने जनाएको छ।
इरानी विदेशमन्त्री अब्बास अराक़चीले एक्समा लेखेका छन्, “यदि ट्रम्प वास्तवमै कूटनीतिक समाधान चाहन्छन् भने इजरायलको आक्रमण तुरुन्त रोकिनुपर्छ। आक्रमण रोकिने अवस्था नभएसम्म हाम्रो जवाफ पनि जारी रहन्छ।”
आणविक पूर्वाधारमा क्षति
आईएईएका प्रमुख राफाएल ग्रोसीले बीबीसीलाई बताएका छन् कि नताञ्ज केन्द्रमा १५,००० जति सेंट्रिफ्यूजहरू नष्ट भएका छन्। यद्यपि फोर्दो केन्द्र खासै प्रभावित नभएको जनाइएको छ।
चीनले आफ्ना नागरिकलाई इजरायल छाड्न आग्रह
इरानी आकाशमा इजरायली नियन्त्रण कायम भएको दाबीबीच चीनले आफ्ना नागरिकलाई स्थलगत मार्ग प्रयोग गरी इजरायलबाट तुरुन्त निस्कन आग्रह गरेको छ।
वार्ता स्थगित, युद्ध जारी
ओमानमा जुन १५ मा हुने भनिएको अमेरिकी–इरानी वार्ता स्थगित गरिएको छ। इरानले हमला भइरहेका बेला वार्ता सम्भव नरहेको बताएको छ।
ट्रम्पले भने अझै पनि आणविक सम्झौताका लागि ढोका खुला रहेको बताएका छन्। रक्षा सचिव पिट हेगसेथले फक्स न्यूजलाई जानकारी दिँदै भने, “हाम्रो मुख्य लक्ष्य अझै पनि सम्झौता हो, तर हाम्रो क्षेत्रीय हितको रक्षा पनि उत्तिकै महत्वपूर्ण छ।”
तेल मूल्यमा उछाल
युद्धका कारण मंगलबार एशियाली बजार खुल्नेबित्तिकै तेलको मूल्य २ प्रतिशतले बढेको छ। यसअघि सोमबार बजारमा केही गिरावट देखिएको थियो।