मधेस सरकारले सञ्चारकर्मी र सञ्चार क्षेत्रको विकासका लागि विशेष कार्यक्रम अघि बढाएको छ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेशका आठवटै जिल्लामा अवस्थित नेपाल पत्रकार महासंघका शाखालाई आगामी आर्थिक वर्ष २०८२/०८३ मा कार्यालय सञ्चालनका लागि प्रत्येक शाखालाई पाँच लाख रुपैयाँ अनुदान दिने निर्णय गरेका छन्।
मन्त्री लेखीले उक्त अनुदान बजेटबाट बिनियोजन गरी सहयोग गरिने जानकारी दिएका छन्। उनले भने, “म आफै पनि पत्रकारिता क्षेत्रबाट आएको हुँदा पत्रकार साथीहरू र सञ्चार क्षेत्रका समस्याहरूप्रति राम्रोसँग परिचित छु।”
प्रदेश सरकारबाट आठ जिल्लाका पत्रकार महासंघ शाखालाई कार्यालय सञ्चालनका लागि बजेट बिनियोजन गर्नु इतिहासमै पहिलो पटक भएको हो।
मन्त्री लेखीले थपे, “रकम अभावका कारण महासंघका अधिकांश शाखाले कार्यालय सञ्चालन र नियमित कार्य गर्न कठिनाइ भोग्दै आएका छन्। यस्तो अवस्था नआओस् भनेर मैले प्रदेश सरकारबाट थोरै भए पनि बजेट राख्न लागेको छु।”
उनका अनुसार प्रत्येक शाखाले पाउने पाँच लाख रुपैयाँ अनुदान रकम मसलन्ध, घरभाडा, कर्मचारी तलब, विद्युत, पानी लगायतका खर्चमा प्रयोग गर्न सक्नेछन्।
यसअघि पनि आठ जिल्लामा महासंघको समन्वयमा पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रिया, गोष्ठी तथा अन्य कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन्।
मन्त्री लेखीले पत्रकार सुरक्षामा जोड दिँदै पत्रकारहरुको दुर्घटना बीमा कार्यक्रम लागू भइसकेको र आगामी दिनमा त्यसलाई पत्रकारहरूको जीवन बीमामा परिणत गर्ने योजना रहेको बताए।
यस्तै, उनले केही दिनअघि यस वर्षको गणतन्त्र दिवसको अवसरमा पहिलो पटक मधेस प्रदेशका करिब डेढ दर्जन प्रेस स्वतन्त्रता सेनानीहरूलाई नगद रकमसहित प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए।