पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले गैरकानुनी तरिकाले अर्बौं रुपैयाँ नेपाल भित्र्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गर्ने तयारी गरेको छ।
बिहीबार विशेष अदालतमा दायर गरिएको अभियोगपत्रमा पतञ्जली कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू जस्तै एसबिआई बैंक र एभरेष्ट बैंकमार्फत रेमिट्यान्सको रूपमा नियमविपरीत अर्बौं रुपैयाँ ल्याएको विवरण उल्लेख गरिएको छ।
आयोगका अनुसार उक्त रकम भित्र्याउन राष्ट्र बैंक, समाज कल्याण परिषदलगायत नियामक निकायबाट अनुमति लिइएको थिएन। त्यति मात्र होइन, पतञ्जलीको बैंक खातामा आएको रकमको खर्च विवरणसमेत अस्पष्ट रहेको आयोगको दाबी छ।
यो कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४, विदेशी विनिमय ऐन, २०१९, राष्ट्र बैंक ऐन, २०५८ लगायतका कानुनको उल्लंघन भएको भन्दै अख्तियारले थप अनुसन्धान आवश्यक ठानेको छ।
यसैबीच, बिहीबार नै अख्तियारले हदबन्दीभन्दा बढी जग्गा किनबेच गरी राष्ट्रलाई हानि पुर्याएको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सरकारी शक्तिको आडमा हुने आर्थिक अनियमितता र विदेशी संस्थाहरूको क्रियाकलापमाथि अब गम्भीर प्रश्न उठ्न थालेको छ। पतञ्जली प्रकरण यसका ताजा उदाहरणमध्ये एक बन्न पुगेको छ।