मनसुनको पूर्वसन्ध्यामा जलजमावको खतरा बढेपछि वीरगञ्ज महानगरपालिकाले नगरभित्र रहेका प्रमुख तथा सहायक नालाहरूको सफाइ र अतिक्रमण हटाउने कार्यलाई तीव्र बनाएको छ।
महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा मंगलबार वडा नं. ११ र १३ अन्तर्गत पर्ने मुख्य नालाको स्थलगत निरीक्षण गरिएको हो। अनुगमन टोलीले अल्पाइन स्कुल हुँदै श्रीपुर क्षेत्रसम्म फैलिएको नालाको वस्तुस्थिति अवलोकन गरेको थियो।
निरीक्षणका क्रममा नाला अतिक्रमणमा परेको, लामो समयदेखि सफाइ नहुँदा पानीको निकास अवरुद्ध भएको र बाढीको समयमा जलजमाव हुने समस्या देखिएको पाइएको छ। स्थानीयवासीहरूले घरभित्रै पानी पस्ने, दुर्गन्ध फैलिने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने गुनासो गरेका थिए।
त्यसपछि प्रमुख सिंहले तत्काल सफाइ सुरु गर्ने र अतिक्रमण हटाउने निर्देशन दिएका छन्। उनले भने, “स्थानीयको समस्या समाधानका लागि सम्पूर्ण प्रक्रिया अघि बढाइनेछ। दीर्घकालीन रुपमा फोहर व्यवस्थापन र नाला संरक्षणसम्बन्धी योजना पनि निर्माण गरिनेछ।”
अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, वडा नं. १३ का अध्यक्ष हिरालाल गिरी, सरसफाइ प्रमुख सर्फुदिन अन्सारी, प्राविधिक सल्लाहकार प्रकाश अमात्यलगायतको उपस्थिति थियो।
महानगरले आगामी दिनमा अन्य जोखिमयुक्त क्षेत्रहरूको पनि अनुगमन गर्दै तत्काल समाधान र पूर्वाधार सुधारमा विशेष जोड दिने जनाएको छ।
यो पनि पढ्नुहोस्: