नेपाली कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्ने अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेतको नाम जोडिएपछि त्यस विषयमा विस्तृत छलफल भएको थियो। बैठकमा गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफू संलग्न नरहेको दाबी गरेका थिए।
बैठकमा सहभागी नेताहरूले पार्टी भित्रैबाट मन्त्रीको राजीनामा मागिएकोप्रति आपत्ति जनाएका थिए। नेता डा. शशांक कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै राजीनामा माग्ने नेताहरूलाई पार्टीले स्पष्टीकरण सोध्नुपर्ने धारणा राखिएको जानकारी दिए।
“हामीले सभापतिजीलाई भन्यौं, तपाईं ती नेताहरूलाई बोलाउनुहोस्, सोध्नुहोस्, के भएको हो? निकास निकाल्नुपर्छ। आपसी मुठभेड गरेर कसलाई फाइदा हुन्छ? स्पष्टीकरण माग्नूस् शेखर डा. साबसँग, सुनीलसँग, राजेन्द्र बजगाईंसँग,” बैठकपछि डा. कोइरालाले भने।
उनका अनुसार नेताहरूको यस्तो माग आए पनि सभापति देउवाले कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्।
संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाले भने छानबिनलाई सघाउन गृहमन्त्री लेखकले राजीनामा दिनु उपयुक्त हुने धारणा राखेका छन्। त्यस्तै, उनी पक्षीय सांसद डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि लेखकको राजीनामा आवश्यक भएको बताएका छन्।
यता, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष निकालेको जानकारी दिएका छन्।