सामाजिक सञ्जालमा भाइरल बनेको वीरगञ्ज मेडिकल कलेजसम्बन्धी एक विवादित भिडियोबारे मेडिकल कलेज प्रशासनले औपचारिक स्पष्टिकरण दिएको छ।
उक्त भिडियोमा बिरामीको लापरवाहीका कारण मृत्यु भएको दाबी गरिए पनि अस्पताल प्रशासनले आफन्तकै अवरोधले उपचार प्रक्रिया अवरुद्ध भएको दाबी गरेको छ।
मेडिकल कलेजका प्रशासन प्रमुख गौसुल आजमले दिएको जानकारीअनुसार, शनिबार राति ११:४५ बजे वीरगञ्ज महानगरपालिका–१५ भिस्वाका करिब ७० वर्षीय चन्देश्वर प्रसाद सिंहलाई अचेत अवस्थामा उनका आफन्तले आकस्मिक कक्ष (इमरजेन्सी) मा ल्याएका थिए।
त्यसपछि डा. सबना थापा, अतुलेश चौहान र आतिष साहको टोलीले सिंहको ईसीजी, पिपिआर जाँच गर्दा मुटुको धड्कन चलिरहेको देखिएको थियो। डाक्टरहरूको टोलीले उनलाई तत्काल आइसियुमा भर्ना गरी थप उपचार आवश्यक रहेको बताए।
प्रशासन प्रमुख आजमका अनुसार, राति १२:१० बजे बिरामीलाई स्ट्रेचरमार्फत आइसियु लैजाँदै गर्दा बाटोमै आफन्तहरूले बिरामी मृत भइसकेको भन्दै विवाद सुरु गरे।
उनले भने, “विवादकै कारण बिरामीलाई समयमा आइसियुमा भर्ना गर्न सकिएन र राति १२:२२ बजे स्ट्रेचरमै बिरामीको मृत्यु भयो। उपचारमा ढिलाइ नभई आफन्तकै अवरोधले यो घटनाको रूप लिएको हो।”
भाइरल भिडियो सार्वजनिक भएपछि अस्पताल प्रशासनले सिसिटिभी फुटेजहरू जाँच गरेको र कुनै लापरवाही नभएको पुष्टि भएको जनाएको छ। आजमले भने, “हामीसँग सबै सिसिटिभी फुटेज सुरक्षित छन्, जसले अस्पताल पक्ष निर्दोष रहेको पुष्टि गर्छ। शंका भए हेर्न सकिन्छ।”
अहिलेसम्म मृतक सिंहका आफन्तजनसँग सम्पर्क स्थापित हुन नसकेको भए पनि घटना सम्बन्धमा थप जानकारी संकलनको प्रयास जारी रहेको प्रशासनले जनाएको छ।