राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवसको दिन अर्थात् जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन निर्णायक हुने दाबी गर्दै प्रधानमन्त्रीलाई ‘हेलिकोप्टर चढाएर भाग्न बाध्य पार्ने’ चेतावनी दिएका छन्।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले आन्दोलन शान्तिपूर्ण भए पनि सरकारलाई सम्झौतामा ल्याउन दबाब दिने गरी सञ्चालन गरिने बताए। “प्रधानमन्त्रीले संसदमा भन्नुभयो— अब उमेरका हिसाबले भाग्न सकिँदैन, तर सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जान दिने सुविधा हामी दिन्छौं,” लिङ्देनले व्यंग्य गरे।
‘सिंगो परिवारसहित आन्दोलनमा आउनुहोस्’
अध्यक्ष लिङ्देनले आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्दै भने, “यसपटक आन्दोलन टुंग्याएरै छोड्ने हो। आफ्नो मात्रै होइन, सिंगो परिवार लिएर आउनुहोस्। नसके घरमा ताला लगाएरै आउनुहोस्।” उनले आन्दोलनलाई जनआन्दोलनको रूपमा विस्तार गर्न छरछिमेक, आफन्त सबैलाई सहभागी गराउन आग्रह गरे।
‘शान्तिपूर्ण तर अडिग आन्दोलन’
चैत १५ को प्रदर्शनमा हिंसा देखिएको स्मरण गर्दै लिङ्देनले जेठ १५ बाट सुरु हुने आन्दोलन पूर्णतः शान्तिपूर्ण र अहिंसात्मक हुने दाबी गरे। “आन्दोलन हाम्रो पूर्ण नियन्त्रणमा हुन्छ। हाम्रोतर्फबाट कुनै हिंसात्मक गतिविधि हुँदैन, अरुलाई पनि हिंसा गर्न दिँदैनौं,” उनले स्पष्ट पारे।
उनले मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय संस्थाहरुलाई आन्दोलनको अनुगमन गर्न आग्रह गर्ने बताए।
‘सत्याग्रहबाटै गणतन्त्र अन्त्य गर्ने’
भारतमा १९० वर्ष पुरानो ब्रिटिश शासन शान्तिपूर्ण सत्याग्रहबाट अन्त्य भएको उदाहरण दिँदै लिङ्देनले भने, “हामीले पनि पुगनपुग दुई दशकको गणतन्त्रलाई सत्याग्रहबाटै अन्त्य गर्छौं।”
उनले आन्दोलनलाई ‘देश बचाउने र बनाउने’ अभियानको रूपमा परिभाषित गर्दै सबै नेपालीलाई राष्ट्रिय झण्डामुनि एकजुट हुन आग्रह गरे।
“अब यो आन्दोलन कुनै एक दलको होइन, आम देशबासीको आन्दोलन हो,” लिङ्देनले भने, “हामी हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना गरेरै छाड्छौं।”