बारा-पर्सा औद्योगिक करिडोरमा अघोषित लोडसेडिङका कारण उद्योगहरू दैनिक १० घण्टासम्म बिनाबिजुली बस्न बाध्य भएका छन्। पछिल्लो एक सातादेखि अनियमित रूपमा भइरहेका विद्युत अवरोधले उद्योगहरूको उत्पादनमा मात्र होइन, अत्याधुनिक उपकरण र सेवा प्रवाहमै समेत गम्भीर असर पारिरहेको उद्योगीहरूको गुनासो छ।
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार, कुनै पूर्वसूचना विना हुने लोडसेडिङले सम्पूर्ण औद्योगिक वातावरण नै अन्योलमा परेको छ। “कुन बेला बत्ती जाने र आउने भन्ने निश्चित नभएपछि उद्योग सञ्चालन असम्भवजस्तै भएको छ,” उनले बताए।
अहिले करिडोरमा रहेका साना तथा मझौला उद्योगहरूले सञ्चालन समय घटाएका छन् भने ठूला उद्योगहरूले पनि उत्पादन कटौती गरेका छन्। होटल व्यवसाय पनि यसबाट अछुतो छैन। क्लासिक होटल सिमराका प्रबन्धक राज भट्टका अनुसार, बत्ती नहुँदा मासिक ३ लाख ५० हजार रुपैयाँ बराबरको डिजेल खर्च गरेर जेनेरेटर चलाउनु परेको छ।
नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुपेश रुपाखेतीले पिक आवरमा विद्युत माग अत्यधिक हुने भएकाले केही चुनौती भए पनि समय मिलाएर आपूर्ति भइरहेको बताएका छन्। तर उद्योगीहरू भने यो कथनप्रति सन्तुष्ट छैनन्।
करिब १ सय ५० मेगावाट विद्युत खपत हुने यस करिडोरमा उद्योगहरूले वार्षिक करिब ४ अर्ब ५० करोड रुपैयाँ विद्युत महसुल तिर्दै आएका छन्। यति ठूलो योगदान पुर्याउने क्षेत्रलाई प्राधिकरणको ‘लापरवाहीपूर्ण’ व्यवहारले थप संकटमा पारेको उद्योगीहरूको आरोप छ।
उद्योगीहरूले विद्युत आपूर्तिमा तत्काल सुधार नआए कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।