सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
यसअघि, वैशाख १९ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा उक्त नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो, जुन वैशाख २६ गते सम्पन्न भएको हो।
छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए।
प्रश्नोत्तरपछि सभामुख देवराज घिमिरेले विभिन्न सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। ती सबै संशोधन प्रस्ताव अस्वीकृत भएपछि अन्ततः मूल प्रस्तावलाई ध्वनि मतबाट पारित गरिएको हो।
सोही बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) पनि प्रस्तुत गरेका छन्।
विनियोजन विधेयकमाथि सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफल आगामी वैशाख ३० गतेदेखि सुरु हुने जनाइएको छ।
नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमार्फत सरकारको बजेट अर्थात् विनियोजन विधेयक प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।