"किसानको आँप, लिचीसहित तरकारी खेतीमा क्षति पुगेको छ, गरिबका घरको छाना उडाएको छ, कतिपयको घर भत्किएको छ," प्रतिनिधि सभामा सोमबार बोल्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले सरकारको ध्यानाकर्षण गराएका छन ।
आइतबार राति आएको भीषण हावाहुरी र असिनाले मधेस प्रदेशका बारा, रौतहट, पर्सालगायतका जिल्लामा जनजीवन प्रभावित भएको र सर्वसाधारणको बालीनालीमा ठूलो क्षति पुगेको सांसद साहले बताए। आँप, लिची र तरकारी खेतीमा व्यापक क्षति भएको उल्लेख गर्दै उनले पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन ।
उनका अनुसार, हावाहुरीका कारण विद्युतका पोल ढलेका छन्, सञ्चार सेवा अवरुद्ध भएको छ र सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको छ। साहले प्राकृतिक प्रकोपबाट प्रभावित किसान तथा सर्वसाधारणका लागि राहत र सेवा पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरे।
त्यसैगरी, उनले वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गत मटिअर्वा–कलैया–पिलुवा सडकखण्डको कलैया बजार क्षेत्रको ३ किलोमिटर सडक निर्माण कार्य किन सम्पन्न हुन सकेन भन्नेबारे सरकारसँग जवाफ माग समेत गरे।
"प्रधानमन्त्री, भौतिक मन्त्री र अर्थमन्त्री सबै एमालेकै हुँदा पनि किन ३ किलोमिटर सडक कालोपत्रे हुन सकेन?" भन्दै उनले कडा प्रश्न उठाए। प्रधानमन्त्रीसँग सोध्दै उनले सडक निर्माणको लापरवाहीले सर्वसाधारणलाई वर्षातमा हिलाम्य बाटोमा सास्ती खेप्न बाध्य बनाएको आरोप लगाए।
सांसद साहले ठेकेदार कम्पनीले तोकिएको समयमा काम नसक्नुलाई सरकारी कमजोरी ठहर गर्दै दोषीमाथि कारबाही र काम छिटो सम्पन्न गर्न माग गरेका छन्।