“अब वीरगन्ज नडुब्ने,” वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एक नाला सफाइको अवलोकन गर्दै दृढ स्वरमा भने। उनले वर्षा सुरु हुनुअघि नै महानगरले मुख्य नाला सफाइलाई प्राथमिकतामा राखेको र यसले आगामी बर्खामा सहर डुबानबाट मुक्त रहने दाबी गरे।
साउन–भदौतिर डुबानको समस्या झेल्दै आएको वीरगन्जमा यस वर्ष पनि बर्खा नजिकिँदै गर्दा नगरपालिकाले हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको मुख्य नाला सफाइ अभियान तीव्र बनाएको छ । छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि सुरु गरिएको अभियान अहिले दक्षिणतर्फ भन्सारसम्म फैलिएको छ।
प्राविधिक संयोजन: स्काभेटर र जनश्रमको मेल
“जहाँ स्काभेटर पुग्छ, त्यहाँ मेसिन, जहाँ मेसिन पुग्दैन, त्यहाँ मानिस खटाएर सफाइ गरिरहेका छौं,” मेयर सिंहले जानकारी दिए। महानगरका अनुसार तीन वटा स्काभेटर र थप एक चेन स्काभेटर प्रयोगमा ल्याइएको छ भने दैनिक २५ जना सफाइकर्मी कार्यमा खटिएका छन्।
डुबान समाधानको दीर्घकालीन सोच
महानगरका हरियाली तथा सरसफाइ संयोजक जयप्रकाश खेतानका अनुसार, “गत दुई वर्षदेखि नाला निरन्तर सफाइ भएकाले वीरगन्ज बजार क्षेत्र डुबान मुक्त बनिरहेको छ।”
सहरको ८० प्रतिशत वर्षा पानी बग्ने मुख्य नाला माटोले भरिएको कारण पहिले समस्या भएको बताउँदै, मेयर सिंहले भने, “मुख्य नालाको सुरुदेखि अन्तिम बिन्दुसम्म सफाइ गरेर मात्रै दीर्घकालीन समाधान सम्भव छ।”
नागरिक जिम्मेवारीको खाँचो
नालामा जथाभावी फोहर फालिने प्रवृत्तिलाई रोक्न नागरिकलाई सचेत रहन आग्रह गर्दै मेयर सिंहले भने, “महानगरपालिकाले मात्रै हैन, नागरिक सहभागिता अनिवार्य छ। चेतना फैलाउने काम पनि गर्छौं, तर अटेरी गरे कारबाही पनि गर्छौं।”