देशव्यापी रूपमा चर्किएको शिक्षक आन्दोलनले अब निजी विद्यालयहरूलाई समेत समेट्ने संकेत दिएको छ। नेपाल शिक्षक महासंघले शैक्षिक आम हड्तालको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै निजी (संस्थागत) विद्यालयहरूलाई समेत बन्द गर्न आग्रह गरेको छ।
‘सहभागिता बिना संघर्ष अधूरो हुन्छ’
महासंघको विज्ञप्तिमा भनिएको छ, "शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छ।"
यो सन्देशले आन्दोलनलाई सम्पूर्ण शैक्षिक समुदायको साझा मुद्दा बनाउने कोशिस गरेको देखिन्छ।
काठमाडौं मोर्चा बन्ने तयारी: सबै शिक्षक–कर्मचारीलाई आन्दोलनमा उत्रन आह्वान
महासंघले देशभरका विद्यालय पूर्ण रूपमा बन्द गरी काठमाडौंमा उपस्थित हुन शिक्षक र विद्यालय कर्मचारीहरूलाई आह्वान गरेको छ। आन्दोलनलाई केन्द्रीय मोर्चामा रूपान्तरण गर्न यो रणनीति अपनाइएको देखिन्छ।
विद्यालय सञ्चालन र परीक्षा गतिविधिमा रोक
महासंघले आन्दोलनको अवधिमा कुनै पनि शैक्षिक क्रियाकलाप नगर्न कडा निर्देशन दिएको छ। यसमा विद्यालय सञ्चालन, प्रवेश परीक्षा, ग्रेड वृद्धि परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कार्यहरू पूर्णतः निषेध गरिएको छ।
कक्षा १२ को राष्ट्रिय परीक्षा नजिकिँदै गर्दा, महासंघले त्यसमा समेत संलग्न नहुन शिक्षक, प्रधानाध्यापक र कर्मचारीहरूलाई आग्रह गरेको छ।
बन्दाबन्दी र विद्यार्थीसँगको अन्योल
शिक्षक आन्दोलन तीव्र बन्दै गर्दा विद्यार्थी र अभिभावकहरू अन्योलमा छन्। कक्षा १२ का विद्यार्थीहरू परीक्षाको तयारीमा जुटिरहेका बेला यस्तो आह्वानले परीक्षा नै प्रभावित हुने देखिन्छ। यद्यपि महासंघले आन्दोलनको मूल सन्देश शिक्षा प्रणालीको सुधार र शिक्षक अधिकारका लागि भन्दै आएको छ।