भोजपुरी सुपर स्टारको रुपमा चिनिन्छन् गायक सुनिल पंडित । दर्जनौं भोजपुरी गीत गाएका पंडितले नेपाली र भोजपुरी भाषा मिसिएको गीत पनि गाएका छन् । बि. स. २०२९ असार २५ मा आमा पासपती देवीको कोखबाट जन्मिएका पंडितका बुवा चोकट पंडित किसान हुन् । पर्सा जिल्लाको सामान्य परिवारमा जन्मिएका पंडित अहिलेका स्थापित गायक हुन् ।
मधेसका बिवाह र पार्टीमा उनका गीतहरु नघन्किने कुरै हुँदैन । देश भित्र मात्र नभई विदेशमा हुने ‘कन्सर्ट’हरुमा समेत गायक पंडितका गितको ‘डिमाण्ड’ भइरहेको समयका स्थानीयस्तरमा हुने विवाह पार्टीहरुमा उनका गितको माग हुन्छ नै । भर्खरैमात्र अष्ट्रेलियामा आयोजित एक ‘कन्सर्ट’मा सहभागी भएर फर्किएका पंडितसँग मध्य नेपालले गरेको कुराकानी :
१) कस्तो रह्यो अष्ट्रेलिया यात्रा ?
निकै रमाइलो भयो । अष्ट्रेलियामा गएर नेपाली दाजुभाईलाई आफ्नो गीत सुनाउन पाउनु मेरो लागि निकै आनन्दको क्षण भयो ।
२) आजकल के मा व्यस्त हुनुहुन्छ ?
भोजपुरी फिल्म मधेसी बाबु ‘शुटिङ’ भइरहेको छ । मैले त्यसमा सहायक नायकको रोल गर्दैछु । कमेडि रोल छ । अझै ४–५ दिन यसैमा व्यस्त रहन्छु । आज पनि शुटिङ थियो, घरको काम परेर आजको लागि क्यान्सिल गरे ।

३) ४७ वर्षको उमेरमा आफै सहायक नायकको रोलमा फिल्म खेल्दै हुनुहुन्छ, । अझै फिट भएर नै हो ?
हो, अब गायक मान्छे, दौडधुप धेरै हुन्छ । त्यसमाथि अहिले फिल्मको काम, घर खेतको काम, एउटा स्कुलको हेडमास्टर पनि हुँ, । यहि भाग दौडले गर्दा फिट देखिएको हुनसक्छ । बिहान ४ बजे नै उठेर २ घण्टा नियमित शारिरिक व्यायाम पनि गर्छु ।
४) तपाईको संगित यात्राबारे विस्तृत रुपमा बताउन मिल्छ ?
गायिका देविका प्रधान, बरिष्ठ संगिताकार शम्भुजित बास्कोटा जस्ता हस्तिहरुको संगत गर्ने अवसर पाएको छु । उहाँको घरमा नै बसेको मान्छे हो म । उहाँहरुले मलाई संगितको बारेमा धेरै सिकाउनु भयो । उहाँहरुसँग हम्रोनियम बजाएको छु । मैले त आफ्नो पहिलो गित नै देविका प्रधान ज्युसँग गाएको हो । ‘रे गोरिया तोहरे बिना ना लागे जियरा, कैसे जाई हम बिदेशवा’ भन्ने गितको हामीले सँगै गाएको हो । त्यसमा शम्भुजित बास्कोटाले संगित भर्नु भएको थियो । त्यो गित दर्शकले खुब मन पराउनु भयो । मैले यो गित रेकर्ड गराउनको लागि ६ कट्ठा जग्गा बेचेको छु । यसरी नै मेरो सांगितिक यात्रा शुरु भयो ।
५) संगित प्रतिको मोह चाँहि कसरी जाग्यो ?
पहिला मधेसमा त्यति धेरै भोजपुरी गित गाइन्नथ्यो । हामी भारतको बिहारको नदियाके पार, धरती मैया जस्ता फिल्मका गित सुन्थ्यौ । त्यहि गित सुन्दा–सुन्दा मैले पनि गित गाउन सक्छु कि जस्तो लाग्यो । त्यसपछि मैले ‘माई रे माई हमरा उहि लड्की चाहि’ भन्ने गित गाए । त्यो दिल्लीको टि–सिरिज कम्पनीमा रेकर्ड गराएको थिए । त्यो गित भारतको यु.पि., बिहार लगायत नेपालमा पनि धेरै चल्यो । त्यसपछि मैले ‘सिन्दुर छ, पोते छ, रातो रङ्गको साडि छ जाउँ कान्छि घुम्न जाँउ घर डाडापारी छ... गोरे गोरे देहिया तोहार ए गोरी मनवा करेला चुमली’ भन्ने भोजपुरी र नेपाली मिक्स गित पनि गाएं । बिहारकी चर्चित भोजपुरी गायिका इन्दु सोनालीसँग । त्यो पनि टि–सिरिज कम्पनीमै रेकर्ड भएको थियो । त्यसपछि मैले भोजपुरी फिल्महरुमा पनि गित गाउने मौका पाउन थाले ।
६) अहिले कुन कुन गित आउदैछ तपाईको ?
अहिले भर्खर मैले मुम्बईबाट ३ वटा गित रेकर्ड गरेर आएको छु । देवरा रिक्सावाला भन्ने फिल्मका लागि । बिहारका रामाकान्त प्रसादको निर्देशनमा बनेको फिल्म छिट्टै रिलिज हुँदैछ । त्यसमा मेरो गितहरु सुन्न सक्नुहुन्छ ।
७) कत्तिको सजिलो छ, यो फिल्डमा टिक्न ?
निकै गाह्रो छ । गित लेख्नदेखि लिएर गाउन, रेकर्ड गराउन, सगिंत भर्न, म्युजिक भिडियो बनाउन, रिलिज गर्न, विक्रि वितरण गर्न लगायत सबै काममा पैसा खर्च हुन्छ । तर, आम्दनीको श्रोत भने कम छ । आफ्नो मान्छेहरु भयो भने ठिक हो, उनीहरुको साथ र सहयोगमा सबै काम सजिलै हुन्छ । तर, हामी जस्तो सामान्य गायकका लागि त यो निकै गाह्रो काम हो ।
८) तपाई विचमा केहि समय संगित क्षेत्रबाट हराउनु भएको थियो नि, किन ?
मैले संगित क्षेत्रबाट बिश्राम लिइसकेको थिए । म आफ्नै कामकाजमा व्यस्त थिए । त्यतिबेला मलाई अञ्चल प्रहरी कार्यालय नारयणीका प्रमुख एसएसपी (हाल आईजिपी) सवेन्द्र खनालले बोलाएर तिमी जस्तो मान्छे यसरी चुप लागेर बस्नु हुन्न भनेर सम्झाउनु भयो । तिमी संगित क्षेत्रमा निरन्तर लागि रहनु पर्छ, ।
आफ्नो प्रतिभा यसरी खेर फ्याक्नु हन्न भनेर हौसला दिनुभयो । उहाँले मधेसमा बालबिवाह, महिला हिंसा, दाइजो प्रथा बिरुद्ध अभियान चलाइरहनु भएको थियो । मलाई पनि सँगै लिएर जानुहुन्थ्यो । त्यहा मैले जनचेतनामुलक गितहरु गाउथेँ । ‘जईसन चहनी हमरा ओइसन ससुराल नामिलल’ भन्ने चेतनामुलक गित निकै मन पराइएइको थियो । पछि सवेन्द्र खनालकै सहयोगमा त्यसलाई रेकर्ड गराएर म्युजिक भिडियो पनि निकाले । त्यसपछि नै मैले राष्ट्रपति भवनमा सम्मानित हुने सौभाग्य पाएको थियो । अनि त्यसपछि नै मेरो करियर अगाडि बढ्यो । देश बिदेशमा हुने कार्यक्रमहरुमा मलाई खोज्न थालियो ।
९) आजकल छाडा गितहरुको बिगविगी छ नि ?
अरु गितहरुमा त भन्दिन म । तर भोजपुरी गितमा धेरै नराम्रो नराम्रो शब्दहरु प्रयोग गरेर गित गाउने गायकहरु धेरै हुनुहुन्छ । छाडा शब्दको आँधीबेहरी नै गितमा देखिन थालेपछि हामीले आफ्नो प्रतिष्ठा जोगाउन पनि गाह्रो हुन थालेको छ । अनावश्यक शब्द र जथाभावी संगित प्रयोग गित गाउने ‘ट्रेण्ड’ नै देखिन थालेको छ । यस्ता गितहरु आफ्नो परिवारसँग बसेर सुन्न लायक पनि हुदैनन् । त्यस्तै गित दर्शकहरुले मन पराइरहेका छन् । तर त्यहि गित उनीहरु आफ्नो आमा, दिदि, बहिनी, छोरी, बुहारीसँग बसेर सुन्न भने सक्दैनन् । यस प्रति हाम्रो समाजले पनि केहि बोल्न सकिरहेको छैन । तर, एउटा कुरा निश्चित छ कि यस्ता गितहरु धेरै दिन टिक्नेवाला छैनन् ।
१०) अन्त्यमा, सगिंत क्षेत्रमा लाग्न चाहनेहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
संगित भनेको एउटा कला हो । संगित कर्मीहरुले यहि कला बेचेर आफ्नो जिवन निर्वाह गर्नुपर्छ । त्यसैले यो क्षेत्रमा प्रवेश गर्नुअघि यसबारे राम्रोसँग जानकारी लिनुहोला । संगितको ज्ञान लिएर मात्र यो क्षेत्रमा प्रवेश गर्नुहोला । त्यसो भए मात्र यो क्षेत्रमा टिक्न र विक्न सजिलो हुन्छ ।