वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जगरनाथपुर गाउँपालिका अन्तर्गत आज आयोजित वडा इकाई कमिटि गठन तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका सयौं स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
जगरनाथपुर गाउँपालिका वडा नं.–२ दसौतामा आयोजित कार्यक्रममा जसपाका स्थानीय नेता कार्यकर्तासहित एक सय ५ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सो वडामा छोटेलाल महतो केवटको अध्यक्षतामा ३१ सदस्यीय वडा इकाइ कमिटी गठन पनि गरिएको माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्य सलाउद्दीन अहमदले जानकारी दिए ।
यसैगरी, जगरनाथपुर गाउँपालिका वडा नम्बर–३ मा जसपाका स्थानीय नेता कार्यकर्तासहित २ सय जनाले माओवादी प्रवेश गरेका छन् । यस वडामा अमिरुल हसनको अध्यक्षतामा ५७ सदस्यीय वडा कमिटी गठन गरिएको अहमदले बताए ।
कार्यक्रममा बोल्दै माओवादीका केन्द्रिय सदस्य बिरेन्द्र प्रसाद यादवले बर्तमान परिवेशमा देशको विकास र निकासको लागि माओवादीको विकल्प नभएको दाबी गरे । माओवादीकै कारण बर्षौदेखिको उत्पीडत गरिब, सीमान्तकृत, पिछडिएका समुदायमा राजनीतिक चेतनाको विकास भएको उनको भनाई छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केन्द्रिय सदस्य यादवले मधेश आन्दोलनपछि मधेशी दलहरुमा राजनीतिक अराजकता बढेको आरोप लगाए ।
वडा कमिटि गठन तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्यद्वय बिरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, स्थानीय नेता कृष्णमोहन प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।