वीरगंज । पर्सामा जग्गा दलालको जग्गाको मुल्य बढाउन नहर पुरेर सडक बनाउन लागिएको छ । वीरगंज महानगरपालिकाले चिठि लेखेर नै सडक बनाइदिन सघन शहरी तथा भवन आयोजना कार्यालयलाई र नापी कार्यालयलाई जमिन छुट्याइदिन आग्रह गरेर नहर भत्काएर सडक बनाउन लागेको हो ।
वीरगंज–कलैया सडकखण्ड अन्तर्गत परवानीपुर गाउँपालिका–५ नौतन बहुअरीको धर्मशाला अगाडि देखी वीरगंज महानगरको वडा नं १५ लक्ष्मनवा हुदै नेशनल मेडिकल कलेजसम्मको करीब साढे चार किलोमिटर लम्बाइको गण्डक नहरको ब्लक नं ७ को मेन सेकेन्डरी क्यानल (एमएससी) को संरचना भत्काएर सडक बनाउन लागिएको देखिन्छ ।
आफु अनुकुल कामका लागी महानगरले सघन शहरी तथा भवन आयोजना कार्यालय र नापी कार्यालयलाई समेत प्रयोग गरेको पाइएको छ । दीपावली र छठको सार्वजनिक बिदाको अवसर पारी ठेकेदार पक्षले नहर पुरेर र नहरको डिलमा रहेको रूख समेत काटेर सडक बनाउन लागेको हो । विसं २०३० सालमा सिंचाइ कार्यालयले साढे चार किलोमिटर लम्बाइ र १३ मिटर चौडाइ भएको जग्गाको मुआब्जा दिएर अधिग्रहण गरी किसानको खेतमा सिंचाइ गर्दै आएको थियो । उक्त नहरबाट हजारौं बिघा खेत सिंचाइ हुँदै आएकोमा अहिले सडक निर्माण भएपछि सयौं किसान मारमा परेको छ । बाराको ताजपुरबाट आएको नहरपछि गण्डक क्यानलसंग जोड्दै किसानले सिचाई गर्दै आएकोमा नहर पुर्दा खेती गर्न नसकिने स्थानीय कृष्क रुद्र प्रसाद गुप्ता बताउँछन् । यस विषयमा सम्बन्धीत निकायले ध्यान पुर्याउनुपर्ने उनको भनाई छ ।
वीरगंज महानगरपालिकाले २०७५ मंसिर २५ गते सघन शहरी तथा भवन आयोजना कार्यालय र नापी कार्यालयलाई चिठी लेखेर नहर बाटो आयोजना अन्तर्गत सडक निर्माण कार्यमा परेकाले १० मिटरको बाटो बनाउन आग्रह गरेको थियो । जबकी ३ मिटरको मात्रै ग्रेभल बाटो र ९ मिटर नहर छ तर १० मिटर सडक बनाउन आग्रह आए बमोजिम सघन शहरी तथा भवन आयोजना कार्यालयले नहर पुरेर सडक बनाउन लागेका हुन् ।
वीरगंज महानगरको आग्रह बमोजिम ०७५ वैशाख ३१ गते रमण/श्याम र युनाइटेड विल्डर्ससँग वीरगंज महानगरपालिका भित्रका विभिन्न १३ वटा सडकखण्ड सहित वीरगंज–कलैया सडकखण्ड अन्तर्गत परवानीपुर गाउँपालिका–५ नौतन बहुअरीको धर्मशाला अगाडिको नहरदेखी वीरगंज महानगरको भिष्वा १५ मेडिकल कलेजसम्म कृष्कले सिचाई गर्ने नहरलाई भत्काएर सडक निर्माण र स्तरोन्नतीका लागि सघन शहरी तथा भवन आयोजना कार्यालयले सम्झौता गरेको थियो । सम्झौतामा ०७७ बैशाख ३० गतेसम्म सक्ने गरी ठेक्का सम्झौता भएपनी काम नसकिएपछि दुई पटक म्याद थपिएर नहर भत्काएर सडक बनाउन लाग्दा कृष्कहरुले सिचाई कसरी गर्ने भन्ने विषयमा विवाद हुदाँ सिचाई कार्यालयले नहर पुर्ण रोक लगाएको छ ।
महानगर भित्रको करिब २६ किलोमिटर सडकखण्ड मध्ये हाल ठेक्केदारले १३ सय मिटर सडकखण्ड पुरीसकेका छन् । मूल्य अभिवृद्धि कर बाहेक ७४ करोड ८७ लाख ६५ हजार १ सय १९ रुपैयाँमा ठेक्का लिएको कम्पनीले २७ करोड ३७ लाख ४४ हजार ८ सय २४ (मूल्य अभिवृद्धि कर र मुल्य समायोजन समेत) बुझिसकेका छन् । योजना अनुसार लक्ष्मणवामा १३ सय मिटर र ३ किलोमिटर सडक बनाउने जिम्मा थियो । १ किलोमिटरमा – एशियाली विकास बैंकले अण्डर ग्राउण्ड नाला सहित सडक बनाएको छ, बाँकी दुई किलोमिटरमा कम्पनीले नै झाडी फाँडेर सडक बनायो । त्यतिखेर गण्डक नहरको मूल शाखा मासेर सडक निर्माण गरिएको थियो । गण्डक नहरको ब्लक ७ को मेन सेकेन्डरी क्यानल(एमएससी) नौतन चोक (रामजानकी धर्मशाला) देखि दक्षिण तर्फको नहर क्रमशः मासिँदै गर्दा कृष्कहरुले सिचाई गर्न नस्क्ने भएको स्थानीय कृष्क सुजित कुमार साह बताउँछन् । नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका अनुसार गण्डक नहरको ब्लक नं ७ को मेन सेकेन्डरी क्यानल (एमएससी) को संरचना भत्काएर १० मिटर चौडा नालासहितको कालोपत्रे सडक निर्माण कार्य गर्न थालेपछि कृष्कहरुले गुनासो गर्दा तत्काल काम रोक्न लगाइएको हो ।
वीरगंज महानगरको पत्र अनुसार ०७५ मंसिर २० गते वडा नम्बर १५ का निलम्बित वडा अध्यक्ष गजेन्द्र पटेलको अध्यक्षतामा स्थानीयको भेला भएको थियो । भेलाले वीरगंज–कलैया सडकखण्डदेखि दक्षिण लक्ष्मणवा गाउँ पस्ने सडक निकै साँघुरो भई आवागमनमा समस्या भएको निष्कर्ष निकाल्दै दुवैतर्फ नाला बनाएर सडक बनाइदिन आग्रह गरेका थिए । स्थानीयले त्यस क्षेत्रमा बस्ती विस्तार भइरहेको बताउँदै नाला निर्माण गर्न निर्णय गरेको थियो । तर अहिले नहर भत्काएर सडक बनाउन लागिएको हो ।
यता सडक बन्न लागेकोमा कतिपय जग्गाधनी भने खुशी देखिन्छन् । बाटो बनेपछि जग्गाको मूल्य बढ्ने विश्वासमा खेतीयोग्य जग्गा प्लटिङ गरेर समेत बेच्न सकिने भएकाले सडक छेउमा जग्गा हुनेहरु नहर नभए पनि फरक नपर्ने समेत तर्क गर्ने गरेका छन् । स्थानिय कृष्क अनिल कोईरीले भने सडक बनेपछि बोरिङ्गले पनि खेती गर्न सक्ने बताउँछन् । तर यता सिंचाइ कार्यालयले आपत्ती जनाएको छ । कार्यालयले सिंचाइ विभाग, वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा र सघन सहरी तथा भवन निर्माण आयोजनालाई समेत पत्राचार गरेर भत्काइएको नहर एवं संरचना अविलम्ब मर्मत गरिदिन आदेश दिएको छ । नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रसुन मिश्रले पठाएको पत्रमा गहुँ बालीका लागि नहर सञ्चालन गर्नुपर्ने भएकाले अविलम्ब नहर एवं संरचनालाई मर्मत गराइदिन भनिएको छ । तिहारअघिसम्म नहरको पानी लक्ष्मणवा क्षेत्रको ३ सय विघा जमिनका धान खेतीमा सिंचाइका लागि प्रयोग भईरहेकोमा अविलम्ब मर्मत गर्न र पुरानो स्वरुपमा बनाउन भनिएको हो ।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका सुचना अधिकारी ईन्जिनियर सुबोध कुमार कुशवाहाका अनुसार हामीलाई कुनैपनी सुचना नदिई भएको रुख काटेर नहर पुरेर सडक बनाउन लागेको थियो । २०७८ भदौँ १० गते एउटा बोधार्थ पत्र आएको थियो सडक बनाउने भनेर त्यसमा नहर पुरेर वा सिसौँ काटेर भन्ने त्यस्तो केही उल्लेख नै नगरी नहर भत्काएर बनाउन लागेको हुदाँ सिचाई कार्यालयले विरोध जनाएको हो । महानगरपाकिाले वडाको भेलाको निर्णय भनेर बोधार्थ दिएका थिए । त्यहाँ प्रत्यक्ष रुपमा निरिक्षण गर्दा मात्रै नहर पुरेर सडक बनाएको पाइएको सुचना अधिकारी कुशवाहाको भनाई छ । नारायणी सिंचाइ कार्यालयका अनुसार नहर पुरेर बाटो बनाउनु किसानका पेटमा लात हान्नु सरह हो । महानगरपालिका भू–माफियाको चंगुलमा फसेर, बस्ती नै नभएको ठाउँमा सडक बनाउन लागेको स्थानीयहरुको आरोप छ ।
यता निर्माण कार्य रोकाएपछी वीरगंज महानगरपालिकाले २०७८ भदौ १० गते नहरको वास्तविक चौडाइ पहिचान गरेर १० मिटरको बाटो पहिचान गरी बाँकी नहरलाई छोड्नु भनी सघन सहरी अयोजना कार्यालयलाई पत्राचार गरेको छ । यस विषयमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले सहरीकरण तर्फ बढ्न लागेकाले हामीले बनाउन लागेको बताए । धेरै ठाउँमा नहर पुरेर सडक बनाएको उदाहरणहरु छन् । जबसम्म किसानले हामीलाई सडक बनाउन भन्दैन तबसम्म हामीले बनाउदैनौँ ।
त्यहाँका किसानले यदि भन्छ पानी चाहियो भने बोरिङ्ग राखेर पानीको व्यवस्थापना गर्न पनी सक्छौँ । किन भने हामीले एकदेखी १६ सम्मका वडालाई हामीले सहरीकरणको रुपमा लिएका छौँ त्यहीँ हिसाबले हामीले सडक बनाउन लगाएका हौँ । बाकीँ वडामा हामीले खेति गराउने योजना बनाएका छौँ । जग्गा दलालीसंग मेयर मिल्यो भन्ने सवालमा मेयर सरावगीले आरोप मात्रै रहेको प्रतिक्रिया दिए ।