मंसिर २८ गते देखि पर्साका १ हजार मोतियाबिन्दु बिरामीहरुको निःशुल्क शल्यक्रिया शुरु भएको छ ।
वीरगंजको पानीटंकीमा रहेको माट्रिका आई फाउन्डेसन र वीरगंजका मेयर विजयकुमार सरावगीको मेयर कल्याणकारी कोषबाट संयुक्त रुपमा वृहत मोतियाबिन्दु शल्यक्रिया शुरु भएको हो । यो शिविर पुस १ गतेसम्म चल्ने फाउन्डेसनका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी गराउनु भएको छ ।
यसअघि पर्साका विभिन्न स्थानीय तहमा मंसिर ३ गतेदेखि हिजो सम्म आँखा शिविर मार्फत मोतियाबिन्दु भएकाहरुको खोजी गरिएको थियो । शीवीरमा करिब ४ हजार ५ सय आँखाका बिरामीहरुको आँखा जाँच गरिएको जनाइएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ, वडा नम्बर २४ रामगढवा, वडा नम्बर २५ श्रीसिया, वडा नम्बर ३२ चोर्नी लगायत ७ वटा वडा तथा पर्सागढि नगरपालिकाको केही वडा र बहुदरमाई नगरपालिकाको केही वडामा निःशुल्क शिविर आयोजना गरी शल्यक्रियाको लागि बिरामी छनौट गरिएको धामीले जानकारी गराउनु भएको हो ।
मोतियाबिन्दुको शल्यक्रियामा माट्रिका आई फाउन्डेसनको ६० प्रतिशत र मेयर कल्याणकारी कोषको ४० प्रतिशत सहयोग रहेको जनाइएको छ । शल्यक्रिया शीवीरमा आउनेहरुका लागी यातायात, बस्ने, खाना, रगत परिक्षण तथा शल्यक्रियाको खर्च समेत निःशुल्क रुपमा उपलब्ध गराइएको छ । ६० वर्ष माथिका आँखा रोगीलाई ६ हजार पर्ने समान्य लेन्स र ६० वर्षमुनिकाको लागि अत्याधुनिक मेशिनबाट गरिने ‘फेको अप्रेशन’ को ९ हजार खर्च परिरहेको अस्तपालले जनाएको छ ।
शिविरमा सहभागी भएर निःशुल्क शल्यक्रिया गराउन पाउँदा आँखा बिरामीहरुखुशी भएका छन् । गतबिहिवार नेत्र विशेषज्ञ नम्रता गुप्ताले करिब ८० जनाको शल्यक्रिया गरेको र शुक्रवारदेखि डाक्टरकिशोर प्रधान र राजेन्द्र साह गरी तीनजना डाक्टरको टोलीले दिनको डेढ सय जनाको उपचार गरिरहेको बताइएको छ ।
शल्यक्रिया शिविरको लागि गौतममाविले नयाँ भवनमा बासस्थानको व्यवस्था मिलाएको छ ।