सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार गत १७ कात्तिकमा सरकारले समिति विघटन गर्ने निर्णय गरेको हो। उक्त निर्णय आज नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि औपचारिक रूपमा पुष्टि भएको हो।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजना सञ्चालन गर्दै आएको थियो। पृथ्वीको सबैभन्दा कान्छो पहाडका रूपमा चिनिने चुरे शृङ्खलाको संरक्षण गर्ने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गरिएको थियो।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन २०७१ असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरिएको थियो। सरकारले २०७४ जेठ २४ गते गुरुयोजना स्वीकृत गरेपछि समितिमार्फत यसको कार्यान्वयन हुँदै आएको थियो।
अब समितिमार्फत हुँदै आएका काम मन्त्रालय मातहत ल्याइएको छ। मन्त्रालयअन्तर्गतको चुरे तथा संवेदनशील जलाधार संरक्षण विभागले ती काम कार्यान्वयन गर्नेछ। यसअघि समिति स्वायत्त निकायका रूपमा सञ्चालन हुँदै आएको थियो।
समिति विघटन भएसँगै चुरे संरक्षणका काममा सरकारको प्रत्यक्ष भूमिका बढ्नेछ। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गुरुयोजना कार्यान्वयनको प्रगति मूल्यांकन गरेर सरकारले यस्तो निर्णय गरेको हुन सक्छ।
नेपालका ७७ जिल्लामध्ये ३७ जिल्लामा फैलिएको चुरे क्षेत्र उत्तर–दक्षिण १० देखि ५० किलोमिटरसम्म विस्तार भएको छ। गुरुयोजनाअनुसार २० वर्षभित्र १६४ नदी प्रणाली व्यवस्थापन गर्ने लक्ष्य राखिएको थियो।
गुरुयोजना कार्यान्वयनका लागि २ खर्ब ४९ अर्ब ७० करोड १९ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको थियो। समिति गठन भएयता सरकारले १६ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ।
तर राष्ट्रिय योजना आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाको वित्तीय प्रगति ६.४९ प्रतिशत र भौतिक प्रगति ६.७ प्रतिशत मात्रै रहेको थियो। न्यून प्रगतिका कारण चुरे संरक्षण अभियानको प्रभावकारितामाथि प्रश्न उठ्दै आएको थियो।
पटक–पटक भएको थियो पुनर्संरचनाको प्रयास
सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम पुनर्संरचना गर्ने प्रयास यसअघि पनि पटक–पटक गरेको थियो। आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सरकारले चुरे संरक्षण परियोजना पुनर्संरचना गर्ने र गुरुयोजना पुनरावलोकन गर्ने घोषणा गरेको थियो।
सरकारले यसलाई राष्ट्रिय चुरे संरक्षण आयोजनाका रूपमा अघि बढाउने योजना पनि सार्वजनिक गरेको थियो।
नेपालको कुल जनसंख्याको करिब ५० प्रतिशत तराई मधेसमा बसोबास गर्ने भएकाले चुरे क्षेत्रमा मानवीय गतिविधिको चाप बढ्दै गएको छ। चुरे क्षेत्रमा १६४ वटा साना–ठूला नदी प्रणाली छन्। यस क्षेत्रमा १३७ स्थानीय तह र चुरे–तराई मधेस क्षेत्रमा ३२५ स्थानीय तह रहेका छन्।
बर्सेनि आउने बाढीका कारण तराई मधेसका खेतीयोग्य जमिनमा बालुवा र पाँगो माटो थुप्रिने तथा गाउँबस्ती डुबान र कटानको जोखिममा पर्ने गरेका छन्।
महाभारत क्षेत्रबाट बग्ने नदीहरू चुरे हुँदै तराईतर्फ झर्ने भएकाले यो क्षेत्र प्राकृतिक रूपमा संवेदनशील मानिन्छ। ढुंगा, गिट्टी, बालुवा तथा वनपैदावारको अव्यवस्थित दोहनले चुरे क्षेत्र थप जोखिममा परेको छ। यसको असरले पानीका स्रोतसमेत सुक्दै गएका छन्।
यस्ता जोखिम न्यूनीकरण, चुरेको पारिस्थितिकीय प्रणाली संरक्षण तथा तराई मधेसका बासिन्दालाई पानीको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले सरकारले चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो।
यसैगरी नेपाली सेनाले पनि आर्थिक वर्ष २०७२/७३ देखि वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमार्फत विकास समितिसँगको सहकार्यमा चुरे संरक्षणका काम गर्दै आएको थियो।
समितिमार्फत हुँदै आएका थिए यस्ता काम
समितिले आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म विभिन्न साझेदार निकायसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरेको थियो। संघीयता कार्यान्वयनपछि स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गरिएको थियो। आर्थिक वर्ष २०७६/७७ पछि भने समितिअन्तर्गतका पाँचवटा कार्यक्रम कार्यान्वयन इकाइमार्फत काम हुँदै आएको थियो।
समितिले नदी तथा खोला किनारा स्थिरीकरण, घाट निर्माण तथा सौन्दर्यीकरण, तटबन्ध निर्माण, गल्छी, पहिरो तथा खहरे नियन्त्रण, सिमसार र तालतलैयाको संरक्षण तथा व्यवस्थापनका काम गर्दै आएको थियो।
त्यस्तै, भूमिगत जल पुनर्भरण पोखरी निर्माण, सतहमुनिको पानीको उपयोग, भिरालो जमिनमा फलफूल खेती प्रवर्द्धन, तारबार, नदी उकास जग्गाको संरक्षण तथा कृषि वन प्रवर्द्धनका कार्यक्रम पनि समितिमार्फत सञ्चालन हुँदै आएका थिए।