बेलायत सरकार र युरोपेली संघ (ईयू) ले ब्रेक्जिटपछिको सम्बन्ध सुधार गर्ने उद्देश्यले गत साता सहमति गरेका दुईवटा नयाँ सन्धिका दस्तावेज बिहीबार सार्वजनिक गर्ने भएका छन्।
बिहीबार दिउँसो सार्वजनिक गरिने सन्धिसँगै सम्झौताको अधिकांश व्यवस्था कार्यान्वयन गर्न आवश्यक विधेयक पनि प्रस्तुत गरिनेछ।
बीबीसीका अनुसार सन्धिमा १० वर्षे समाप्ति प्रावधान राखिएको छ। उक्त प्रावधानअनुसार कुनै एक पक्षले सम्झौता अन्त्य गरेमा सीमा जाँचका पूर्वाधार पुनर्निर्माण गर्न लाग्ने खर्च व्यहोर्नुपर्नेछ। नयाँ सम्झौताअन्तर्गत सीमा जाँचसम्बन्धी पूर्वाधार उल्लेख्य रूपमा घटाइने योजना छ।
तर, विपक्षी नेता केमी बेडेनोक र रिफर्म यूकेका नेता निगेल फराजले सम्झौता अन्त्य भएमा उक्त खर्च तिर्न अस्वीकार गर्ने संकेत दिएका छन्।
ब्रेक्जिटपछिको नयाँ सम्झौताले यसको आर्थिक लाभ, लागत तथा बेलायत र ईयूबीचको दीर्घकालीन सम्बन्धबारे बहससमेत सिर्जना गरेको छ।
सम्झौतामा बेलायती खाद्य पदार्थको निर्यात, उत्सर्जन व्यापार प्रणाली (इमिसन ट्रेडिङ स्किम) र युवाहरूका लागि अनुभव आदानप्रदान कार्यक्रम समेटिएका छन्। बिहीबार सार्वजनिक हुने दुई कानुनी दस्तावेजले खाद्य व्यापार र उत्सर्जन व्यापारसम्बन्धी व्यवस्था समेट्नेछन्।
सम्झौताअनुसार खाद्य निर्यातकर्ताले प्रशासनिक झन्झट तथा सीमा जाँच हटाइँदा उल्लेख्य लाभ पाउने अपेक्षा गरिएको छ। आन्तरिक विश्लेषणले कृषि निर्यातमा १६ प्रतिशत वृद्धि हुन सक्ने अनुमान गरेको छ।
सरकार र उद्योग क्षेत्रले उत्पादन तथा बिक्री लागत घट्दा त्यसको लाभ उपभोक्तासम्म पुग्ने अपेक्षा गरेका छन्। यद्यपि, बजारमा खाद्य वस्तुको मूल्यमा त्यसको प्रत्यक्ष प्रभाव देखिन नसक्ने सम्भावना पनि औँल्याइएको छ।
युरोपेली मामिलामन्त्री ह्यामिस फाल्कनरले प्रस्तावित 'कटिङ कस्ट्स बिल' ले दुई प्रमुख व्यापार सम्झौता कार्यान्वयन गर्न सहयोग गर्ने बताएका छन्। उनका अनुसार यसले खाद्य तथा पेय पदार्थका व्यापारीको कागजी प्रक्रिया घटाउनुका साथै बेलायती निर्यातलाई कार्बन करबाट जोगाउन र सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग कारोबार सहज बनाउन मद्दत गर्नेछ।
त्यस्तै, बेलायत र युरोपको उत्सर्जन व्यापार प्रणालीलाई जोड्ने योजनाअन्तर्गत बेलायतको हवाई तथा समुद्री यातायात क्षेत्रमा पनि यसको दायरा विस्तार गरिनेछ।
सम्झौतामा बेलायतले ईयूका सम्बन्धित नियम अवलोकन तथा निर्माण प्रक्रियामा सहभागिता जनाउन सक्ने तर मतदान गर्न नपाउने व्यवस्था पनि समेटिनेछ।
यसैबीच, सरकारले संसदीय निगरानी सीमित हुन सक्ने गरी मन्त्रीहरूलाई कानुन संशोधन गर्ने अधिकार दिने 'हेनरी आठौँ पावर' लगायतका व्यवस्था पनि विधेयकमा समेट्ने तयारी गरेको छ।
प्रधानमन्त्रीले ईयूसँगको नयाँ सम्झौतालाई व्यावहारिक कदमको संज्ञा दिँदै यसलाई कुनै अर्को ठूलो राजनीतिक परिवर्तनको सुरुवात नभएको बताएका छन्। यता, विपक्षी नेता बेडेनोकले भने प्रधानमन्त्रीले सम्झौताका उपलब्धिलाई बढाइचढाइ प्रस्तुत गरेको आरोप लगाएकी छन्।