पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। उनले क्याम्प छाड्नुको कारणबारे ‘समय आएपछि’ आफूले सबै कुरा बताउने बताएका छन्।
मुख्य प्रशिक्षक जर्ज जेसुसले रोनाल्डोसँग कुनै विवाद नभएको दाबी गरेको केही समयपछि रोनाल्डोले टोली छाड्ने घोषणा गरेका हुन्। यसअघि पाँच पटकका बालोन डी’ओर विजेताले प्रशिक्षण गर्न अस्वीकार गरेको दाबीसमेत सार्वजनिक भएको थियो।
रोनाल्डोले यसै वर्षको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेबारे सोचिरहेको बताएका थिए। तर करियरमा १ हजार गोल पूरा गर्ने लक्ष्यका कारण उनले खेललाई निरन्तरता दिने निर्णय गरेका थिए।
हालको अन्तर्राष्ट्रिय ब्रेकका लागि उनी जेसुसले घोषणा गरेको २५ सदस्यीय टोलीमा परेका थिए। उनले वेल्सविरुद्धको सुरुआती नेसन्स लिग खेलमा सुरुआत गरेका थिए। तर आइतबार नर्वेविरुद्ध पोर्चुगलले २–१ को जित निकाल्दा रोनाल्डो मैदानमा उत्रिएनन्। खेल सकिएपछि उनी समर्थकलाई अभिवादन गर्न सहकर्मीसँग नगई सिधै ड्रेसिङ रुमतर्फ लागेका थिए।
यसपछि प्रशिक्षकसँग रोनाल्डोको असन्तुष्टि रहेको अनुमान गरिएको थियो। तर खेलअघि पत्रकारसँग कुरा गर्दै जेसुसले कुनै घटना नभएको बताए।
उनले भने, ‘कुनै घटना भएको छैन। कुनै पनि खेलाडी २० वा ३० मिनेट वार्मअप गरेर पनि मैदानमा प्रवेश गर्न नपाउँदा खुसी हुँदैन।’
जेसुसका अनुसार उनले नर्वेविरुद्धको खेलअघि रोनाल्डोलाई सुरुआती टोलीमा नराख्ने जानकारी दिएका थिए र खेलको परिस्थितिअनुसार पछि मैदानमा पठाउन सकिने बताएका थिए। तर अन्ततः उनले रोनाल्डोलाई मैदानमा नपठाउने निर्णय गरेका थिए।
रोनाल्डोले मंगलबार प्रशिक्षण गर्न अस्वीकार गरेको भन्ने दाबीलाई पनि जेसुसले अस्वीकार गरेका थिए। उनका अनुसार रोनाल्डोले ‘मोबिलिटी’ र ‘स्ट्रेन्थनिङ’ सम्बन्धी व्यक्तिगत अभ्यास गर्नुपर्ने भएकाले छुट्टै अभ्यास गरेका थिए र बुधबार सामान्य रूपमा टोलीसँग प्रशिक्षण गर्ने कार्यक्रम थियो।
तर डेनमार्कविरुद्धको खेलका क्रममा रोनाल्डो टोलीसँग मैदानमा देखिएनन्। पोर्चुगिज सञ्चारमाध्यमले उनलाई पार्केन रंगशालाबाट टोलीका दुई सदस्यसँग बाहिरिँदै गरेको भिडियो सार्वजनिक गरेका थिए।
त्यसपछि रोनाल्डोले इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेको घोषणा गरे।
उनले लेखेका छन्, ‘राष्ट्रिय टोलीको पत्रकार सम्मेलनपछि र पोर्चुगिज फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेको छु।’
‘समय आएपछि म किन छाड्नुपर्यो भन्ने कारणबारे सबै पोर्चुगिज जनतालाई सत्य बताउनेछु,’ उनले भनेका छन्।
उनले आगामी खेलका लागि आफ्ना सहकर्मी खेलाडीहरूलाई शुभकामना पनि दिएका छन्।
नर्वेविरुद्ध पोर्चुगलका लागि निर्णायक गोल गरेका गोन्कालो रामोसलाई जेसुसले डेनमार्कविरुद्ध पनि रोनाल्डोभन्दा प्राथमिकता दिने संकेत गरेका थिए।
‘मलाई रोनाल्डो आवश्यक परे उनी मैदानमा आउनेछन्। आवश्यक परेन भने आउने छैनन्,’ जेसुसले भनेका थिए।
पोर्चुगिज फुटबल महासंघले पनि रोनाल्डोले टोली छाडेको पुष्टि गर्दै बाँकी २४ खेलाडीबाट डेनमार्क र नर्वेविरुद्धको तयारी पूर्वनिर्धारित योजनाअनुसार जारी रहने जनाएको छ।