काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबारदेखि वर्षा भइरहेको हो। मौसमविद्का अनुसार आज र भोलि पनि वर्षा जारी रहनेछ भने आइतबारदेखि मौसममा क्रमिक सुधार हुने सम्भावना छ।
निरन्तरको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले देशभर सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीसमेत आउन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।
आज गण्डकी र लुम्बिनीमा बढी वर्षा हुने
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आज बिहानदेखि गण्डकी प्रदेशको समग्र भूभाग र लुम्बिनी प्रदेशको विशेषगरी महाभारतदेखि तल्लो भेगमा वर्षा केन्द्रित हुने सम्भावना छ। कोशी प्रदेशतर्फ भने वर्षाको तीव्रता केही कम हुने उनको पूर्वानुमान छ।
मौसमविद्हरूले आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।
कहाँ कति वर्षा भयो?
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा इलामको कन्याममा मापन भएको छ। त्यहाँ ११४ मिलिमिटर वर्षा भएको छ। इलामकै जितपुरमा ९१ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै, काभ्रेको रोशीमा ९७.८ मिलिमिटर, पाल्पाको अर्चलेमा ९३.८ मिलिमिटर र सोलुखुम्बुको पाख्रिबासमा ८५.२ मिलिमिटर वर्षा मापन भएको छ।