लगातार भइरहेको अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडक खण्डहरूमा पहिरोको जोखिम बढेपछि सवारी आवागमन प्रभावित भएको छ। असोज ८ गतेदेखि भइरहेको वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने छोटो तथा लामो दूरीका अधिकांश सडकमा यातायात सञ्चालनमा समस्या आएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार महेन्द्र राजमार्ग, कान्ति लोकपथलगायत सडकमा पहिरोको जोखिमका कारण सवारी आवागमन रोकिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार महेन्द्र राजमार्ग तथा पृथ्वी राजमार्गमा चितवन प्रशासनले अनिश्चितकालका लागि यात्रा गर्न रोक लगाएको छ। यस्तै, कान्ति लोकपथमा ललितपुर प्रशासनले शनिबारसम्म सवारी सञ्चालनमा रोक लगाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै र ज्यामिरे क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय चितवन र धादिङले संयुक्त सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएका छन्।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोला नजिकै खहरे खोल्सामा सडकमाथिबाट ढुंगा, बालुवा र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुर खण्डकै महादेवटारमा फास्ट ट्र्याकबाट आएको लेदो थुप्रिएपछि सडक बन्द भएको प्रहरीले जनाएको छ।
कान्ति लोकपथको ललितपुरतर्फ पनि माल्टा दोबाटो र पोस्टको बीचमा तथा बागमती गाउँपालिका–३ का पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। सो अवस्थाका कारण जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
यसैगरी, हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डअन्तर्गत दक्षिणकाली–८ को सल्ले डाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। उक्त मार्ग हुँदै दक्षिणकाली जाने सवारी साधनलाई वैकल्पिक मार्गका रूपमा कुलेखानी–हुमाने हुँदै काठमाडौँ जाने व्यवस्था मिलाइएको छ।
यता, त्रिभुवन राजपथ भने हालसम्म पहिरोका कारण प्रभावित भएको छैन। सडक सफा तथा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने यात्रुका लागि हाल त्रिभुवन राजपथ सञ्चालनमा रहेको छ।
लगातार वर्षा भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले प्रशासनले अति आवश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ। वैकल्पिक मार्ग प्रयोग गर्दा समेत मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।