चाडपर्वको मुखैमा भारतले पाम, भटमास (सोयाबिन) र सूर्यमुखीलगायत खानेतेलको आयातमा लाग्ने भन्सार शुल्क भारी कटौती गरेको छ । भारत सरकारले परिमार्जन गरेको नयाँ भन्सार दर बिहीबार (२४ सेप्टेम्बर)देखि लागू भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार चाडपर्वका बेला उपभोक्तालाई सस्तोमा खानेतेल उपलब्ध गराउने र बजारमा बढ्दो महँगी नियन्त्रण गर्ने उद्देश्यले भन्सार शुल्क घटाइएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार कच्चा सूर्यमुखी तेलमा लाग्दै आएको १० प्रतिशत आधारभूत भन्सार शुल्क पूर्णरूपमा हटाएर शून्यमा झारिएको छ । त्यस्तै, प्रशोधित सूर्यमुखी तेलको आयात शुल्क ३२.५ प्रतिशतबाट घटाएर २२.५ प्रतिशत कायम गरिएको छ ।
कच्चा पाम तेल र कच्चा सोयाबिन तेलको आधारभूत भन्सार शुल्क पनि १० प्रतिशतबाट घटाएर ५ प्रतिशत बनाइएको छ । प्रशोधित पाम र सोयाबिन तेलको शुल्क भने ३२.५ प्रतिशतबाट घटाएर २७.५ प्रतिशतमा झारिएको छ ।
भारतले यसअघि सन् २०२५ को सुरुवातमा पनि कच्चा खानेतेलको भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । अहिले गरिएको कटौती त्यसैको निरन्तरताका रूपमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भन्सार शुल्क घटेसँगै भारतमा खानेतेलको मूल्य घट्ने अपेक्षा गरिएको छ । विशेषगरी चाडपर्वका समयमा घरायसी उपभोगका साथै होटल, रेस्टुरेन्ट, क्याटरिङ तथा मिठाई उद्योगमा खानेतेलको माग बढ्ने भएकाले यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउने अपेक्षा गरिएको भारतीय उद्योगीहरूले बताएका छन् ।
नेपालका खानेतेल उद्योगमा असरको जोखिम
भारतको निर्णयले भारतीय उपभोक्तालाई राहत पुग्ने देखिए पनि नेपालका खानेतेल उद्योगका लागि भने चुनौती बढ्ने देखिएको छ ।
नेपालले तेस्रो मुलुकबाट कच्चा पाम, सोयाबिन तथा सूर्यमुखी तेल आयात गरी नेपालमै प्रशोधन गरेर ‘साफ्टा’ सम्झौताअन्तर्गत भारतमा शून्य भन्सारमा निर्यात गर्दै आएको छ । भारतमा आयात हुने कच्चा तेलमा उच्च भन्सार शुल्क हुँदा नेपाली प्रशोधित तेलले भारतीय बजारमा प्रतिस्पर्धा गर्ने अवसर पाउँदै आएको थियो ।
तर अब भारतमै कच्चा तेलको आयात शुल्क शून्यदेखि ५ प्रतिशतसम्म झरेपछि भारतीय उद्योगले तुलनात्मक रूपमा सस्तोमा कच्चा पदार्थ आयात गरी आफ्नै देशमा तेल प्रशोधन गर्न सक्नेछन् । त्यसले नेपाली प्रशोधित तेलको भारतीय बजारमा प्रतिस्पर्धात्मक क्षमता कमजोर पार्न सक्ने जोखिम बढेको छ ।
यसको असर मोरङ–सुनसरी, पर्सा र रुपन्देहीलगायत औद्योगिक करिडोरमा रहेका खानेतेल उद्योगमा पर्न सक्ने देखिएको छ । उत्पादन घट्ने, उद्योगको क्षमता उपयोग कम हुने तथा रोजगारीमा समेत असर पर्न सक्ने उद्योगीहरूको चिन्ता छ ।
त्यस्तै, भारतमा खानेतेल सस्तो हुने र नेपालमा आयात करका कारण तुलनात्मक रूपमा महँगो हुने अवस्था बनेमा खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालतर्फ अवैध रूपमा खानेतेल भित्रिने जोखिमसमेत बढ्न सक्छ ।
भन्सार छली गरेर आउने सस्तो तेलले कानुनी रूपमा सञ्चालन भइरहेका नेपाली उद्योग तथा व्यवसायमा थप प्रतिस्पर्धात्मक दबाब सिर्जना गर्न सक्ने देखिन्छ ।