उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन् ।
मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीप्रति विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा आएको हो । उनले काठमाडौं उपत्यकामा देखिएको ग्यास अभावका लागि उद्योगीहरू जिम्मेवार रहेको दाबी गर्दै उनीहरूमाथि कडा कारबाही गर्नुपर्ने धारणा राखेकी थिइन् ।
उद्योग समितिको बैठकमा मन्त्री यादवले ‘ग्यास उद्योगीको पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन’ भन्दै हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन् । नेपालमा धेरै ग्यास उद्योग आवश्यक नरहेको भन्दै दुईवटा उद्योग भए पुग्ने उनको भनाइ थियो ।
मन्त्रीको उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए । उद्योगी र सरकारबीच विवाद बढिरहेका बेला मन्त्री यादवको राजीनामा आएको हो ।
यसैबीच काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चरम बनेको छ । उपभोक्ताहरू एउटा सिलिन्डर ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य छन् भने कतिपयले तोकिएको मूल्यभन्दा महँगोमा ग्यास खरिद गर्नुपरेको गुनासो गरेका छन् ।
सरकार र नेपाल आयल निगमले ग्यास आपूर्ति भइरहेको तथ्यांक सार्वजनिक गरे पनि बजारमा भने त्यसअनुसार ग्यास सहज रूपमा उपलब्ध हुन सकेको छैन । उपभोक्ताहरू लामो समय लाइनमा बस्दा समेत ग्यास नपाउने अवस्था रहेको छ ।
लामो समयदेखि देखिएको ग्यास अभावमा पछिल्लो समय आएको विपत्तिले थप समस्या सिर्जना गरेको छ । १४ भदौदेखि कृष्णभीरमा सडक भासिएपछि ग्यास ढुवानी प्रभावित भएको र वैकल्पिक मार्गबाट ल्याइएको ग्याससमेत बजारमा सहज रूपमा वितरण हुन नसकेको बताइएको छ ।
नेपालमा ग्यास आयात, भण्डारण र वितरणका लागि सरकारी पूर्वाधार सीमित रहेको छ । हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योग निजी क्षेत्रका हुन् । नेपाल आयल निगमको स्वामित्वमा आफ्नै ग्यास बोटलिङ प्लान्ट छैन भने सरकारको २० प्रतिशत स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले सीमित मात्रामा ग्यास बिक्री गर्दै आएको छ ।
यस्तै, नेपालसँग आफ्नै ग्यास ढुवानी गर्ने बुलेटसमेत पर्याप्त छैन । निजी ग्यास उद्योगहरूले भारतबाट ग्यास आयात गर्दा भारतीय बुलेटमा निर्भर हुनुपर्ने अवस्था रहेको छ । यस्तो अवस्थामा ग्यास अभावको समाधान गर्नुपर्ने समयमा उद्योगीलाई लक्षित गर्दै मन्त्री यादवले दिएको अभिव्यक्ति विवादमा परेको थियो ।