नेपालमा आएको बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा खानपानका लागि पतञ्जलि नेपालले २ करोड ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। स्वामी रामदेवजी र आचार्य श्री बालकृष्णजी को प्रेरणामा अभियान सञ्चालन गर्दै प्रभावित क्षेत्रका एक दर्जनभन्दा बढी स्थानमा भण्डारा सुरु गरिएको छ।
विपत्तिमा परेका नागरिकलाई निःशुल्क भोजन उपलब्ध गराउँदै आएको पतञ्जलि नेपालले राहतलाई केवल सहयोगका रूपमा नभई मानवीय सेवा र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाएको जनाएको छ। संकटको समयमा एक छाक भोजनले भोक मेटाउने मात्र नभई पीडित नागरिकलाई आफूहरू एक्लो नभएको अनुभूति गराउने विश्वास संस्थाको छ।
‘योग, आयुर्वेद र सेवा’लाई आफ्नो मूल दर्शन मान्दै आएको पतञ्जलिले प्राकृतिक विपत्तिका बेला पीडितको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको बताएको छ। ‘नर सेवा नै नारायण सेवा’को भावनाबाट प्रेरित हुँदै बाढी–पहिरो प्रभावित नागरिकको पीडामा साथ दिन अभियान अघि बढाइएको हो।
प्राकृतिक विपत्तिका कारण घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका नागरिकलाई पुनःस्थापित गर्न सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकबीच सहकार्य आवश्यक रहेको पतञ्जलि नेपालको भनाइ छ।
पतञ्जलि नेपालको यो अभियान राहत वितरणमा मात्र सीमित नरही मानवता, करुणा, सेवा र राष्ट्रिय उत्तरदायित्वको सन्देश दिने अभियानका रूपमा अघि बढेको छ। बाढी–पहिरोले भौतिक संरचना भत्काउन सक्छ, तर संकटमा एकजुट हुने नेपालीको मानवीय भावना र सेवाको बाटो रोक्न नसक्ने विश्वास संस्थाले व्यक्त गरेको छ।