वीरगञ्ज महानगरपालिकामा गएराति परेको वर्षापछि आदर्शनगर, रामटोल, श्रीपुर, मुर्ली, पानीटङ्कीलगायतका क्षेत्र पुनः डुबानमा परेका छन्। यस घटनाले वर्षायाममा दोहोरिने शहरी डुबानको समस्या केवल प्राकृतिक वर्षाको परिणाम मात्र नभई पूर्वाधार निर्माणको कमजोर व्यवस्थापन र अपर्याप्त पानी निकास प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको देखाएको छ।
स्थानीयका अनुसार अहले मुख्य सडक विस्तारको कार्यले समस्या झन् गम्भीर बनाएको छ। हाल गण्डकदेखि मितेरी पुलसम्म करिब सात किलोमिटर सडकखण्डमा सडकको दायाँ–बायाँ २५/२५ मिटर विस्तार भइरहेको छ। तर, निर्माणका क्रममा सडक किनारका नाला तथा फुटपाथका भग्नावशेष व्यवस्थित रूपमा हटाइएनन्।
कतिपय स्थानमा नाला पुरिएर वा अवरुद्ध भएर वर्षाको पानीको प्राकृतिक बहाव रोकिएको छ। परिणामस्वरूप मुख्य सडकसँगै त्यससँग जोडिएका सहायक सडक र बस्तीहरू पनि जलमग्न भएका छन्। ठाउँठाउँमा खानेपानीको पाइप फुटेर सडक जलमग्न भएका छन् ।
डुबानले स्थानीयको जनजीवनमा प्रत्यक्ष असर पारेको छ। घरभित्र पानी पस्दा फर्निचर, खाद्यान्न, विद्युतीय सामग्रीलगायतका सामानमा क्षति पुगेको छ भने कतिपय परिवारले रातभर जाग्राम बसेर घरबाट पानी निकाल्नुपरेको अवस्था आएको छ।
यसले शहरी पूर्वाधार व्यवस्थापनमा रहेको कमजोरीको प्रत्यक्ष प्रभाव सर्वसाधारणको दैनिक जीवनमा कसरी पर्छ भन्ने स्पष्ट देखाउँछ। घटनापछि केही स्थानमा पानी निकास, नाला व्यवस्थापन तथा सडक विस्तारको कार्यलाई लिएर स्थानीयबीच विवादसमेत उत्पन्न भएको छ।
निर्माण कार्यअघि वा निर्माणकै क्रममा अस्थायी तथा दीर्घकालीन पानी निकासको योजना तयार नगरिएकाले प्रत्येक वर्ष एउटै समस्या दोहोरिने अवस्था सिर्जना भएको आरोप स्थानीयले लगाएका छन् । यसले विकास निर्माणका परियोजनामा समन्वय, योजना र जोखिम व्यवस्थापनको अभाव रहेको देखाउँछ।
वीरगञ्जमा हरेक वर्ष दोहोरिने डुबानलाई हेर्दा यो केवल मौसमी समस्या होइन, दीर्घकालीन शहरी योजना र पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित संरचनात्मक चुनौतीका रूपमा देखिन्छ। सडक विस्तार, ढल तथा नाला व्यवस्थापन र वर्षाको पानी निकास प्रणालीलाई एकीकृत रूपमा विकास नगर्दासम्म यस्ता समस्या दोहोरिने सम्भावना उच्च रहने देखिन्छ।
सरोकारवालाहरूका अनुसार दीर्घकालीन समाधानका लागि आधुनिक ढल तथा नाला प्रणालीको विकास, निर्माण कार्यको गुणस्तरीय अनुगमन र वर्षाको पानीको वैज्ञानिक व्यवस्थापन अपरिहार्य छ। अन्यथा आगामी वर्षाहरूमा वीरगंजले अझ गम्भीर शहरी डुबान र त्यसबाट उत्पन्न सामाजिक तथा आर्थिक क्षतिको सामना गर्नुपर्ने जोखिम रहने देखिन्छ।
स्थानीय बासिन्दाले तत्काल पुरिएका नाला खुलाउने, विस्तारित सडक क्षेत्रमा प्रभावकारी पानी निकासको व्यवस्था गर्ने तथा डुबान प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।