त्रिभुवन राजपथ विस्तारको क्रममा सडक छेउका घर–भवनहरू आवश्यक पूर्वतयारी, समुचित व्यवस्थापन तथा सरोकारवाला निकायबीच समन्वयको अभावमा जथाभावी भत्काइँदा वीरगञ्ज शहरको सौन्दर्यमा गम्भीर असर परेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घले तत्काल सुधारात्मक कदम चाल्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
सङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा सडक विस्तारका क्रममा भत्काइएका भवनको निर्माणजन्य फोहोर अझै व्यवस्थापन नभएको, ढल तथा नालाको निकास अवरुद्ध भएको, वर्षाको पानी र ढल सडकमै बग्न थालेको तथा खानेपानीका पाइप फुट्दा पानीको अनावश्यक चुहावट भइरहेको उल्लेख गरिएको छ। विद्युतका पोल ढल्दा र तारहरू क्षतिग्रस्त हुँदा विद्युत आपूर्तिसमेत प्रभावित भएको जनाइएको छ।
विज्ञप्तिअनुसार सडकपेटीमा इँट्टा, छड, सिमेन्टलगायतका निर्माण सामग्रीका ठूला टुक्रा अव्यवस्थित रूपमा थुप्रिँदा सर्वसाधारणको आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।
सङ्घले वर्षायामका कारण ढल निकास अवरुद्ध भई फोहोर पानी सडकमा बग्ने, घरघरमा ढल मिसिएको पानी पुग्ने तथा सरसफाइको अवस्था थप बिग्रँदै गएको जनाएको छ। यस्तो अवस्था तत्काल सुधार नगरे हैजा, डेङ्गु, मलेरिया लगायतका संक्रामक रोग फैलिन सक्ने जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यमा गम्भीर संकट आउन सक्ने चेतावनीसमेत दिएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले त्रिभुवन राजपथ विस्तारको कार्यलाई योजनाबद्ध, सुरक्षित र व्यवस्थित ढङ्गबाट अगाडि बढाउन ढल तथा नाला प्रणालीको तत्काल पुनःसञ्चालन, निर्माणजन्य फोहोरको व्यवस्थापन, खानेपानी तथा विद्युत सेवा शीघ्र पुनःस्थापना गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले जारी गरेको विज्ञप्तिमा वर्षायाममा नागरिकले थप सास्ती नपाउने गरी आवश्यक व्यवस्थापन गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारसहित सबै सरोकारवाला निकायलाई तत्काल प्रभावकारी कदम चाल्न हार्दिक अपिल गरिएको छ।