पर्साको सखुवा प्रसौनी गाउँपालिका–१, सिद्धपुरमा शंकास्पद अवस्थामा मृत फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्काको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै उनका आफन्त तथा विभिन्न सरोकारवालाले सोमबार वीरगञ्जमा प्रदर्शन गरेका छन्।
मृतक खड्काको माइती पक्षको आयोजनामा भएको विरोध प्रदर्शन तथा ऐक्यबद्धता कार्यक्रममा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले निष्पक्ष जाँचबुझ समिति गठनलगायत ११ बुँदे मागसहित नाराबाजी गरेका थिए।

वीरगञ्ज बसपार्कबाट सुरु भएको विरोध र्याली घण्टाघरसम्म पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा सहभागीहरूले घटनाको निष्पक्ष अनुसन्धान नभएसम्म न्यायका लागि आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
युवा अभियन्ता धिरसिंह घिमिरेले प्रदर्शनको उद्देश्य घटनाको सत्यतथ्य सार्वजनिक गराउनु र पीडित परिवारलाई न्याय दिलाउनु रहेको बताए।
मृतकका आफन्तले घटनामा उनका श्रीमान् सुधीर सिलवालको परिवारको संलग्नता रहेको आरोप लगाएका छन्। तर उक्त आरोपको आधिकारिक पुष्टि भने हालसम्म नभएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
दुई सन्तानकी आमा लक्ष्मी खड्का आफ्नै घर नजिक रहेको गोठमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको प्रकृति शंकास्पद रहेको भन्दै ठोरी गाउँपालिका–३ स्थित माइती पक्षले निष्पक्ष छानबिनको माग गर्दै दबाबमूलक प्रदर्शन गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने भएकाले अनुसन्धान प्रक्रिया जारी छ। प्रदर्शनकारीहरूले तथ्यमा आधारित निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग पुनः माग गरेका छन्।