देशका ७१ जिल्लामा डेंगु संक्रमण पुष्टि भइसके पनि यस वर्ष विगतका वर्षहरूको तुलनामा संक्रमणको दर कम रहने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ। बढ्दो जनचेतना, स्थानीय तहको सक्रियता र लामखुट्टे नियन्त्रण अभियानका कारण संक्रमण नियन्त्रणमा रहने अपेक्षा गरिएको हो।
किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार झापा, सुनसरी, चितवन र कास्कीमा डेंगु संक्रमण बढी देखिएको छ। उनका अनुसार विगतका वर्षहरूमा ठूलो संख्यामा संक्रमण फैलिएपछि नागरिकमा डेंगुबारे सचेतना उल्लेखनीय रूपमा बढेको छ।
उनले भने, "संक्रमणबाट बच्ने उपाय र समयमै उपचारमा जानेबारे जनचेतना बढेकाले यस वर्ष संक्रमण कम हुने अनुमान गरेका छौं। तर जोखिम अझै टरेको छैन।"
महाशाखाले प्रत्येक साता ७७ जिल्लाका ७५३ स्थानीय तहबाट प्राप्त तथ्यांक विश्लेषण गर्दै जोखिमका आधारमा नियन्त्रणका उपाय अपनाउन सुझाव दिँदै आएको जनाएको छ। लामखुट्टे नियन्त्रणका लागि संघीय सरकारले बजेट उपलब्ध गराएको छ भने स्थानीय तहहरूले पनि आफ्नै स्रोतबाट अभियान सञ्चालन गरिरहेका छन्।
यस वर्ष डेंगु नियन्त्रणका लागि ४१५ स्थानीय तहलाई करिब रु. ५ करोड बजेट विनियोजन गरिएको छ। जोखिमको स्तरअनुसार बजेट वितरण गरिएको महाशाखाले जनाएको छ।
गत वर्षदेखि साउन, भदौ र असोज महिनामा 'डेंगु सचेतना अभियान' सञ्चालन हुँदै आएको छ। लामखुट्टेको बासस्थान नष्ट गर्ने, विद्यालयस्तरमा जनचेतना फैलाउने र जोखिमयुक्त क्षेत्रको निगरानी बढाउने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।
स्वास्थ्य विज्ञहरूले डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टे को टोकाइबाट सर्ने भएकाले घर–आँगनमा पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्ने र ज्वरो, टाउको दुख्ने, आँखाको गेडी पछाडि दुख्ने तथा शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।