त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको प्रकरणमा ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार साउन ८ गते भएको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यस घटनाबारे शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरेका छन्। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले साइबर ब्युरोले घटनाबारे केहीबेरमा आधिकारिक जानकारी सार्वजनिक गर्ने बताएका छन्।
साउन ८ गते मध्याह्न १२ बजे सुरु भएको एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमा प्रश्नपत्र साझा गरिएको थियो। त्यसपछि फेसबुक पेज ‘TU Students’ ले सम्बन्धित स्क्रिनसट सार्वजनिक गर्दै त्रिविको ध्यानाकर्षण गराएको थियो।
सार्वजनिक स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिएको थियो। त्यसपछि एक सदस्यले समाधानसमेत मागेका थिए भने केही मिनेटपछि अर्को पीडीएफ फाइल पनि समूहमा पठाइएको देखिएको थियो। साथै, अर्को सदस्यले आगामी ‘इकोनोमिक्स’ विषयको परीक्षाको प्रश्नपत्र पनि यसैगरी उपलब्ध गराइदिन आग्रह गरेको सन्देश सार्वजनिक भएको थियो।
घटनापछि त्रिवि व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईले साइबर ब्युरोलाई पत्राचार गर्दै संलग्न व्यक्ति, संस्था वा परीक्षा केन्द्रको पहिचान गरी कानुनी कारबाही गर्न अनुरोध गरेका थिए।
यसैबीच, त्रिविको परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।