त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको खुलेको छ।
साउन ८ गते मध्याह्न १२ बजे सुरु भएको परीक्षाको प्रश्नपत्र करिब १२ः०५ बजे नै ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमा साझा गरिएको दाबी गरिएको हो। उक्त घटनापछि परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको परीक्षार्थी तथा सरोकारवालाहरूले बताएका छन्।
फेसबुक पेज ‘TU Students’ ले ह्वाट्सएप समूहका स्क्रिनसट सार्वजनिक गर्दै त्रिविको ध्यानाकर्षण गराएको थियो। सार्वजनिक स्क्रिनसटअनुसार ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ। त्यसपछि एक सदस्यले समाधान पनि मागेका छन् भने केही मिनेटपछि अर्को पीडीएफ फाइल पनि साझा गरिएको देखिन्छ। यद्यपि उक्त फाइलमा के थियो भन्ने खुलेको छैन।
त्यही समूहका अर्का सदस्यले आगामी ‘इकोनोमिक्स’ विषयको परीक्षामा पनि प्रश्नपत्र यसैगरी पठाइदिन आग्रह गरेको सन्देशसमेत सार्वजनिक भएको छ। उक्त ह्वाट्सएप समूहमा एक हजार २३ सदस्य रहेको देखिएको छ।
घटनापछि त्रिवि व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईले साइबर ब्युरोलाई पत्राचार गर्दै घटनाको अनुसन्धान गरी संलग्न व्यक्ति, संस्था वा परीक्षा केन्द्रको पहिचान गरी कानुनी कारबाही गर्न अनुरोध गरेका छन्।
यसैबीच, त्रिविको परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्।
समितिलाई घटनाबारे विस्तृत अनुसन्धान गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको त्रिविले जनाएको छ।