गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनका लागि अब गृहमन्त्री स्वयं जाने परम्परा अन्त्य गर्दै विशेष टास्क फोर्स गठन गरी सादा पोशाकमा अनुगमन गरिने बताएका छन्।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सीमा क्षेत्रको प्रभावकारी निगरानीका लागि नयाँ कार्यविधि अपनाउन लागिएको जानकारी दिए।
उनले गृहमन्त्री सीमा नाकामा जाँदा सुरक्षा घेरा र औपचारिकताका कारण वास्तविक अवस्था बुझ्न तथा प्रभावकारी अनुगमन गर्न कठिन हुने भएकाले अब मिनिस्ट्रियल स्पेशल टास्क फोर्स गठन गरी सादा पोशाकमा कर्मचारी परिचालन गरिने बताए।
“सीमा नाकामा अब गृहमन्त्री जानेभन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं। गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, काम गर्नै गाह्रो हुने रहेछ। अब सादा पोशाकको टोलीले जनताको दुःख बुझेर प्रभावकारी अनुगमन गर्नेछ,” उनले भने।
गृहमन्त्री गुरुङले मधेश, कर्णाली र सुदूरपश्चिमलाई गृह मन्त्रालयको विशेष प्राथमिकतामा राखिएको पनि बताए। ती प्रदेशका नागरिकले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको उल्लेख गर्दै अब उनीहरूको पीडामाथि राजनीति होइन, समाधानमुखी काम गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले विगतमा यी क्षेत्रका जनताको दुःखलाई राजनीतिक मुद्दा बनाइएको टिप्पणी गर्दै सरकारले अब जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने बताए।
“मधेश, कर्णाली र सुदूरपश्चिमका जनताले धेरै वर्षदेखि दुःख पाएका छन्। अब जनताको आँशुमा कसैले राजनीति नगरोस् भन्ने हाम्रो चाहना हो। कमजोरी भए सुधार्दै अघि बढ्छौं,” गृहमन्त्री गुरुङले भने।