नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भक्तपुरस्थित गुण्डुमा भेटवार्ता भएको छ। जनकपुर जाने कार्यक्रमअघि प्रचण्ड ओली निवास पुगेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन्।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार भेटका क्रममा प्रचण्डले ओलीसमक्ष प्रदेशमा सर्वदलीय सरकार गठन र वामपन्थी शक्तिबीच सहकार्य का दुई प्रस्ताव राखेका थिए।
ज्वालाले प्रदेश सरकार परिवर्तन प्रारम्भिक रूपमा नेकपाको चासोको विषय नभए पनि कांग्रेस–एमाले नेतृत्वका सरकार परिवर्तन हुने परिस्थिति बनेपछि संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक भएको भन्दै प्रस्ताव अघि सारिएको बताए।
उनका अनुसार श्रीलंकाको भ्रमणबाट फर्किएपछि प्रचण्ड र नेकपाका सहसंयोजक माधवकुमार नेपालबीच भएको छलफलले प्रदेशमा सर्वदलीय सरकार गठन गर्ने साझा निष्कर्ष निकालेको थियो। पुराना राजनीतिक दलहरूबीच बढ्दो तिक्तता र असहमतिका कारण मुलुक राजनीतिक जटिलतामा पुगेको निष्कर्ष पनि उनीहरूको रहेको ज्वालाले बताए।
यसक्रममा सहसंयोजक नेपालले नेपाली कांग्रेसका सभापति गगन थापासहित कांग्रेस नेताहरूसँग औपचारिक तथा अनौपचारिक छलफल गरेको जानकारी दिँदै ज्वालाले कांग्रेसबाट भने अहिलेसम्म कुनै ठोस धारणा नआएको बताए।
उनका अनुसार कांग्रेससहितको सर्वदलीय सरकार गठन हुन नसके एमाले र नेकपाबीच वाम सहकार्य गरेर अघि बढ्ने विकल्पबारे पनि छलफल भएको छ। प्रचण्ड जनकपुरबाट फर्किएपछि कांग्रेस नेतृत्वसँग पनि थप संवाद गर्ने तयारी रहेको उनले बताए।
ओलीसँगको भेटपछि जनकपुर पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै वाम शक्तिबीच सहकार्यको वातावरण बन्दै गएको र एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका थिए। उनले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल जारी रहेको जानकारी दिएका थिए।
यता एमालेका सचिव महेश बस्नेतले पनि एमाले र नेकपाबीच सहकार्यको ढोका खुल्न लागेको दाबी गर्दै यस्तो सहकार्य प्रदेश सरकार गठनमा मात्र सीमित नभई मुलुकको राजनीतिक स्थायित्व, राष्ट्रिय हित र कम्युनिस्ट शक्तिहरूबीचको एकताका लागि सकारात्मक कदम हुने विश्वास व्यक्त गरेका छन्।