नेपालमा हरित तथा दिगो सार्वजनिक यातायात प्रवर्द्धन गर्ने उद्देश्यका साथ वीरगञ्जमा चिनियाँ चेरी र ओन्डा ब्रान्डका विद्युतीय बसको औपचारिक बिक्री शुभारम्भ गरिएको छ।
ओम्नी मोबिलिटी प्रालिले सोमबार आयोजना गरेको कार्यक्रममा यातायात व्यवसायी, उद्योगी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले बसमा प्रयोग गरिएका आधुनिक प्रविधि, सुरक्षा सुविधा, आकर्षक डिजाइन तथा सञ्चालन क्षमताबारे जानकारी लिनुका साथै टेस्ट राइड पनि गरेका थिए।
ओम्नी मोबिलिटीका निर्देशक सन्दीपकुमार मोहताले कम्पनी सार्वजनिक यातायातलाई आधुनिक, सुरक्षित, किफायती तथा वातावरणमैत्री बनाउने लक्ष्यसहित अघि बढिरहेको बताए। उनका अनुसार चेरी र ओन्डा ब्रान्डका विद्युतीय बस नेपालमा हरित यातायात विस्तार गर्ने महत्वपूर्ण कदम हुन्।
कम्पनीले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता तथा दक्ष प्राविधिक सहयोगसमेत उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार विद्युतीय बसहरूबाट धूवाँ उत्सर्जन नहुने, सञ्चालन तथा मर्मत खर्च कम लाग्ने र एकपटक पूर्ण चार्ज गर्दा करिब २०० किलोमिटर यात्रा गर्न सकिने विशेषता छ। सार्वजनिक, संस्थागत तथा पर्यटकीय यातायातका लागि यी बस उपयुक्त रहेको कम्पनीको दाबी छ।
३२ सिटे सिटीराइड विद्युतीय बसको मूल्य १ करोड ३३ लाख ९० हजार रुपैयाँ तथा ३५ सिटे बसको मूल्य १ करोड ७३ लाख ९० हजार रुपैयाँ तोकिएको छ।
बिक्री शुभारम्भको अवसरमा प्रत्येक बसमा ३ लाख रुपैयाँसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ। साथै सरकारको विद्यमान व्यवस्थाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट तिरेर बस खरिद गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ।