वीरगंजको मुख्य सडक विस्तार अभियान फेरि एकपटक निर्णायक चरणमा प्रवेश गरेको छ । गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन केही दिनका लागि रोकिएको अभियान अब पुनः सञ्चालन हुने भएको हो । सडक डिभिजन कार्यालय, हेटौंडाले साउन २ गते १५ दिने सूचना जारी गर्दै सडक सीमाभित्र परेका संरचना हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरेसँगै अभियानले पुनः गति लिने संकेत देखिएको छ ।
गण्डकचोकदेखि मितेरीपुलसम्म करिब सात किलोमिटर सडक विस्तार वीरगंजको सबैभन्दा महत्वपूर्ण शहरी पूर्वाधार योजनामध्ये एक मानिन्छ । लामो समयदेखि विभिन्न कानुनी, प्रशासनिक तथा स्थानीय अवरोधका कारण योजना प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन । पटक–पटक सूचना जारी भए पनि कार्यान्वयन कमजोर रहँदा स्थानीयवासीमा सरकारी निर्णयप्रति विश्वाससमेत घट्दै गएको थियो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनको आधार बनेपछि भने अभियानले नयाँ मोड लिएको छ । गत वैशाख ६ गतेदेखि सुरु गरिएको पहिलो चरणमा मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० संरचनाको अगाडिको भाग डोजर प्रयोग गरेर हटाइएको थियो । त्यसक्रममा केही घरधनीले स्वेच्छाले संरचना हटाउँदै सरकारी अभियानलाई सहयोग गरेका थिए, जसले अभियानप्रति सकारात्मक सन्देश दिएको थियो ।
यद्यपि अधिकांश घरधनीले अझै संरचना हटाउन चासो नदेखाएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरेर अभियानलाई तीव्र बनाएको थियो । दोस्रो चरणमा गण्डकचोकदेखि घण्टाघरसम्म तथा मितेरीपुलदेखि अलखियामठसम्म सडक विस्तारको काम अघि बढाइएको थियो । त्यसैबीच गहवामाई चौथो रथयात्रालाई व्यवस्थित रूपमा सम्पन्न गराउन अभियान केही दिनका लागि रोकिएकोमा अब यसले गति लिने डिभिजन सडक कार्यालय हेटौंडाका इन्जिनियर किरण कार्कीले बताए ।
अब जारी गरिएको नयाँ सूचनाअनुसार विशेषगरी घण्टाघरदेखि अलखियामठसम्मको क्षेत्रलाई प्राथमिकतामा राखेर संरचना हटाउने काम अघि बढाइनेछ । यस क्षेत्रमा अझै धेरै संरचना हटाउन बाँकी रहेकाले कार्यालयले सम्बन्धित घरधनीलाई स्वेच्छाले संरचना हटाएर अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।
यसपटक सडक विस्तार अभियानप्रति स्थानीयवासीको दृष्टिकोण पनि विगतको तुलनामा परिवर्तन हुँदै गएको देखिन्छ । पहिले सूचना मात्रै आउने तर काम अघि नबढ्ने अवस्थाका कारण सडक किनारका बासिन्दा अन्योलमा रहने गरेका थिए । तर अहिले अभियान व्यवहारमै कार्यान्वयन हुन थालेपछि अधिकांश स्थानीय सडक विस्तार अब रोकिने सम्भावना न्यून रहेको निष्कर्षमा पुगेका छन् ।
यस परिवर्तनले घरधनीहरूको व्यवहारमा पनि प्रभाव पारेको छ । सडक विस्तारपछि भवनको पछाडिको भाग सुरक्षित रहने अवस्था भएका धेरैले डोजरको प्रतीक्षा नगरी आफैं संरचना हटाउन थालेका छन् । यसबाट व्यक्तिगत क्षति कम गर्ने र सरकारी कामलाई सहज बनाउने दुवै उद्देश्य देखिन्छ ।