विगत २२ वर्षदेखि सञ्चालनमा रहेको तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी संस्थापक अध्यक्ष विनीता अग्रवालद्वारा शुभारम्भ गरिएको महिला संस्था वीमेन्स क्रिएसन ले वीरगञ्जमा भव्य ग्रिष्मकालीन प्रदर्शनी आयोजना गरेको छ।
प्रदर्शनीको उद्घाटन भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवी शरण मीणा र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए।
संस्थाकी अध्यक्ष रूपा अग्रवाल को नेतृत्वमा आयोजित प्रदर्शनीमा उद्योगपति, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका महिला–पुरुषहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सञ्जय अग्रवाल, हरिप्रसाद गौतम, माधव राजपाल, टीकाराज चौलागाईं, अशोक वैद्य, आर.के. सिन्धी, डा. लक्ष्मी थापा, श्वेता मस्करा गुप्ता, नूतन सारावगी र मनीषा सचदेवा लगायतको उपस्थिति रहेको थियो।
प्रदर्शनीमा नेपाल र भारतका व्यवसायीद्वारा निर्मित हस्तकला सामग्री, रेडिमेड परिधान, सौन्दर्य तथा श्रृंगार सामग्री, खाद्य परिकार, आभूषण, गृहउपयोगी सामग्रीलगायतका आकर्षक स्टल राखिएका छन्।
आयोजकका अनुसार प्रदर्शनीको उद्देश्य महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्नुका साथै नेपाल–भारतबीचको व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको छ।