जिल्ला प्रहरी कार्यालय पर्साले गत असार महिनामा अपराध नियन्त्रण, भन्सार छली रोकथाम, लागूऔषध नियन्त्रण तथा फैसला कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। प्रहरीका अनुसार एक महिनाको अवधिमा ११ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गर्नुका साथै २०८ वटा मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार भन्सार छली तथा राजश्व चुहावटविरुद्धको अभियानमा १० करोड ९० लाख ९७ हजार १७० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ।
२०८ मुद्दा दर्ता, १०१ प्रतिवादी पक्राउ
असार महिनाभर कर्तव्य ज्यान, चोरी, बैंकिङ कसूर, सामाजिक अपराधलगायत विभिन्न प्रकृतिका २०८ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न १०१ जना प्रतिवादी पक्राउ परेका छन् भने लामो समयदेखि अनुसन्धानमा रहेका १८६ वटा पेन्डिङ मुद्दा फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ।
फैसला कार्यान्वयनमा पनि प्रभावकारी
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले १६० जना फरार प्रतिवादी पक्राउ गरेको छ। उनीहरूबाट २७ वर्ष ७ महिना २ दिन कैद कार्यान्वयन हुनुका साथै ४३ लाख ९८ हजार ३३२ रुपैयाँ जरिवाना असुल गरिएको छ।
यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी तीन वटा मुद्दा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित विभागमा पठाइएको छ।
लागूऔषधविरुद्ध कडाइ
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले २७ वटा मुद्दा दर्ता गर्दै २२ जनालाई पक्राउ गरेको छ।
प्रहरीले ७८३ किलो ८८ ग्राम गाँजा, ३८ ग्राम ९०२ मिलिग्राम ब्राउन सुगर तथा ६ सयभन्दा बढी एम्पुल फेनारगन, डाइजेपाम र टोपगेसिक बरामद गरेको जनाएको छ।
अवैध मदिरा उत्पादन तथा बिक्री नियन्त्रणका क्रममा ३०० लिटर तयारी मदिरा, १ हजार ५०० लिटर कच्चा पदार्थ नष्ट गर्नुका साथै ४ वटा घरेलु मदिरा भट्टी ध्वस्त पारिएको छ।
ट्राफिक र प्राकृतिक स्रोत संरक्षणमा कारबाही
असार महिनामा पर्सामा ५१ वटा सवारी दुर्घटना भएका छन्, जसमा ११ जना घाइते भएका छन्। अधिकांश दुर्घटनाको कारण चालकको लापरबाही रहेको प्रहरीको निष्कर्ष छ।
ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८१ वटा सवारी साधनलाई कारबाही गर्दै १२ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ।
प्राकृतिक स्रोत दोहन नियन्त्रण अभियानमा ८ वटा ट्याक्टर नियन्त्रणमा लिई ४० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, अवैध वन पैदावार ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरी ६५ क्युबिक फिट सालको काठ र १५ वटा साइकल बरामद गरिएको छ। उक्त मुद्दामा ६ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
विपद् उद्धार र सामाजिक सचेतनामा सक्रिय
असार महिनाभर आगलागी, बाढी र चट्याङलगायत १८ वटा विपद्का घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु, १० जना घाइते तथा १७ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
समुदाय र विद्यालय केन्द्रित २१६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४ हजार ६ सयभन्दा बढी नागरिकलाई लागूऔषध दुव्र्यसन, आत्महत्या न्यूनीकरण तथा साइबर अपराधबारे जानकारी गराइएको छ।
यसैगरी, लैङ्गिक तथा घरेलु हिंसासम्बन्धी प्राप्त ५८ वटै उजुरी स्थानीय तहसँगको समन्वयमा मिलापत्रमार्फत समाधान गरिएको प्रहरीले जनाएको छ।
प्रहरी संगठनभित्र पनि सुधार
जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी कर्मचारीको मनोबल अभिवृद्धिका लागि सामूहिक जन्मदिन मनाउने, योगाभ्यास, जुम्बा, नियमित स्टाफ बैठक, गुनासो व्यवस्थापन तथा उत्कृष्ट कार्य गर्ने प्रहरी युनिटलाई सम्मान गर्ने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।