जल तथा मौसम विज्ञान विभागले बुधबार पर्सासहित मधेश प्रदेशका विभिन्न जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यकासहित ३९ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढी आउने उच्च जोखिम रहेको छ।
यस्तै, गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीका साना नदीमा पनि मध्यम जोखिम रहेको विभागले जनाएको छ।
चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतलगायत जिल्लाका साना नदी तथा खोलामा समेत आकस्मिक बाढीको सम्भावना रहेको छ।
बाढीविद् विनोद पराजुलीका अनुसार बुधबार र बिहीबार देशका सातै प्रदेशका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी किनार, खोल्सी र डुबान हुने क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्नेछ।
विशेषगरी पर्सा जिल्लाका सिर्सिया, पसाहा, लालबकैया तथा अन्य साना नदी–खोलाको आसपास बसोबास गर्ने स्थानीयलाई अनावश्यक रूपमा नदी तर्न वा नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा चेतावनीको पालना गर्न विभागले आग्रह गरेको छ।