सुन्ने क्षमता कमजोर हुनु केवल रकेट प्रक्षेपण, ठूलो आवाजमा हुने सङ्गीत कार्यक्रम वा अत्यधिक कोलाहलका कारण मात्र होइन। दैनिक जीवनका सामान्य गतिविधिले पनि बिस्तारै कानमा क्षति पुर्याउन सक्ने भन्दै विज्ञहरूले समयमै सावधानी अपनाउन आग्रह गरेका छन्।
अमेरिकाको ओहायोस्थित क्लिभल्यान्ड क्लिनिककी श्रवण विशेषज्ञ (अडियोलोजिस्ट) भ्यालेरी पाभ्लोभिच रफका अनुसार एकपटक सुन्ने क्षमता गुमेपछि त्यसलाई पुनः फर्काउन सकिँदैन। उनले कानभित्र रहेका सूक्ष्म ‘हेयर सेल’हरू नष्ट भएपछि ती पुनः नबन्ने भएकाले श्रवण शक्ति स्थायी रूपमा कमजोर हुने बताइन्।
विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा किशोरकिशोरी र १० वर्षभन्दा कम उमेरका बालबालिकामा समेत श्रवण समस्याका घटना बढ्दै गएका छन्। सानै उमेरमा ठूलो आवाजमा लामो समयसम्म संगीत सुन्ने, हेडफोनको अत्यधिक प्रयोग गर्ने तथा ध्वनि प्रदूषणमा रहने बानीले दीर्घकालीन असर पार्ने उनीहरूको भनाइ छ।
ठूलो आवाजबाट जोगिन आग्रह
विज्ञहरूले कन्सर्ट, खेल मैदान वा अत्यधिक आवाज हुने स्थानमा जाँदा उच्च गुणस्तरका इयरप्लग प्रयोग गर्न सुझाव दिएका छन्। साधारण फोम इयरप्लगले ध्वनिको गुणस्तर बिगार्न सक्ने भएकाले सङ्गीतका लागि बनाइएका विशेष इयरप्लग उपयुक्त हुने उनीहरूको भनाइ छ।
हेडफोन प्रयोग गर्दा आवाज सुरक्षित स्तरमा राख्न पनि सुझाव दिइएको छ। यदि हेडफोन लगाउँदा नजिकको व्यक्तिको सामान्य आवाज सुन्न सकिन्छ भने ध्वनिको स्तर सुरक्षित मानिन्छ। तर अरूले चिच्याएर बोल्नुपरेमा वा केही पनि नसुनिएमा आवाज अत्यधिक भएको संकेत हुने विज्ञहरू बताउँछन्।
घरायसी काम पनि जोखिमपूर्ण
घाँस काट्ने मेसिन, पात फाल्ने ब्लोअर, चेनसा, ड्रिललगायतका उपकरण प्रयोग गर्दा पनि कानमा असर पुग्न सक्ने भएकाले इयरप्लग वा इयरमफ प्रयोग गर्न सिफारिस गरिएको छ।
यस्तै, राजमार्गमा सवारी चलाउँदा झ्याल खुला राखेर लामो यात्रा गर्नु पनि श्रवण शक्तिका लागि हानिकारक हुन सक्ने अध्ययनले देखाएको छ। हावाको तीव्र आवाज र त्यसमाथि रेडियो वा सङ्गीतको आवाज बढाएर सुन्ने बानीले कानमा थप दबाब पर्ने विज्ञहरूको भनाइ छ।
कान सफा गर्ने गलत बानीबाट पनि सावधान
विशेषज्ञहरूले कानभित्र कपासको डाँडी (कटन बड) वा अन्य वस्तु हालेर सफा नगर्न पनि सुझाव दिएका छन्। यसले कानको मैलो अझ भित्र धकेल्ने, संक्रमण गराउने तथा सुन्ने क्षमता प्रभावित पार्ने जोखिम बढाउँछ। कानमा मैलो जमेको शंका लागेमा चिकित्सक वा श्रवण विशेषज्ञसँग परीक्षण गराउन उनीहरूको सुझाव छ।
समस्या देखिनेबित्तिकै परीक्षण गर्न सुझाव
विज्ञहरूका अनुसार उमेर बढेपछि मात्र होइन, जुनसुकै उमेरमा पनि श्रवण समस्या देखिन सक्छ। विशेषगरी भीडभाडमा कुराकानी बुझ्न गाह्रो हुने, कानमा लगातार घन्टी बजेझैँ आवाज (टिनिटस) आउने वा ठूलो आवाजपछि कानमा असहज महसुस हुने लक्षण देखिए तुरुन्त श्रवण परीक्षण गराउनुपर्ने उनीहरूको सुझाव छ।
उनीहरूका अनुसार कानको स्वास्थ्य जोगाउने सबैभन्दा प्रभावकारी उपाय भनेकै अत्यधिक आवाजबाट बच्ने, सुरक्षित ध्वनि स्तरमा उपकरण प्रयोग गर्ने र आवश्यकता अनुसार कानको सुरक्षा सामग्री प्रयोग गर्ने हो।