फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा इंग्ल्यान्ड र नर्वे सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्। अमेरिकाको हार्ड रक स्टेडियम, मियामीमा हुने खेल नेपाली समयअनुसार आइतबार बिहान २:४५ बजे सुरु हुनेछ।
यस विश्वकपमा दुवै टोली उत्कृष्ट लयमा छन्। इंग्ल्यान्डले अन्तिम १६ मा आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। नर्वेले भने पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले हराउँदै प्रतियोगिताको सबैभन्दा ठूलो उलटफेरमध्ये एक नतिजा निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो।
यो खेलको मुख्य आकर्षण विश्व फुटबलका दुई स्टार स्ट्राइकर ह्यारी केन र एर्लिङ हालान्डबीचको प्रतिस्पर्धा हुनेछ। हालान्डले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नर्वेलाई पहिलोपटक विश्वकप क्वार्टरफाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। उता, केनको नेतृत्वमा इंग्ल्यान्ड लगातार अर्को ठूलो प्रतियोगिताको अन्तिम चरणतर्फ अघि बढ्न चाहन्छ।
इंग्ल्यान्डका लागि रक्षापङ्क्तिमा भने केही चुनौती देखिएको छ। डिफेन्डर जारेल क्वान्साह निलम्बनका कारण उपलब्ध हुने छैनन्। प्रशिक्षक थोमस टुहेलले मिडफिल्डमा जुड बेलिङ्घम तथा आक्रमणमा केनमाथि ठूलो भरोसा गरेका छन्।
यता, प्रशिक्षक स्टोले सोलबाकेनको नेतृत्वमा रहेको नर्वेले मार्टिन ओडेगार्ड, अलेक्जान्डर सोरलोथ र एर्लिङ हालान्डको संयोजनमार्फत इंग्ल्यान्डको रक्षापङ्क्तिमा दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।
यस खेलको विजेताले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।