अन्तिम–१६ मा आयोजक मेक्सिकोसँग भिड्नुअघि इंग्ल्यान्डले केवल विपक्षी टोली मात्र होइन, सुरक्षा, प्रतिकूल मौसम, उच्च उचाइ र रणनीति चुहिने सम्भावित जोखिमसँग पनि जुध्नुपर्ने अवस्था आएको छ।
आइतबार (नेपाली समय सोमबार बिहान) हुने नकआउट खेलअघि इंग्ल्यान्डका खेलाडीहरू टोलीको होटलबाट प्रशिक्षणका लागि निस्कँदा समर्थकहरूले मिश्रित प्रतिक्रिया दिएका थिए। केहीले स्वागत गरे भने केहीले हुटिङ गरे। टोलीका मुख्य प्रशिक्षक थोमस टुहेल लाई भने धेरै समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए।
होटलमा कडा सुरक्षा व्यवस्था
इंग्ल्यान्ड बसेको होटलमा मेक्सिकोको राष्ट्रिय सुरक्षा गार्ड र दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको छ। टोलीको बस होटलमा पुग्दा सयौं स्थानीय समर्थक भेला भएका थिए। केहीले ‘मेक्सिको’ भन्दै नाराबाजी गरेका थिए भने केहीले इंग्ल्यान्ड टोलीविरुद्ध हुटिङ गरेका थिए।
यसअघि अन्तिम–३२ मा मेक्सिकोसँग पराजित भएको इक्वेडर ले आफ्ना खेलाडीलाई रातभर स्थानीय समर्थकहरूले लाउडस्पिकर, हर्न र मोटरसाइकलको आवाज निकालेर सुत्न नदिएको भन्दै फिफा मा उजुरी गरेको थियो। त्यसपछि इंग्ल्यान्डको सुरक्षामा थप सतर्कता अपनाइएको हो।
खेलाडीहरूको निद्रा प्रभावित नहोस् भनेर टोलीले ह्वाइट न्वाइज मेसिन, प्राकृतिक निद्रा सहयोगी सामग्री तथा इयरप्लगको व्यवस्था गरेको छ।
इंग्ल्यान्डका आक्रमणकारी मिडफिल्डर मोर्गन रोजर्स ले भने, "यदि रातभरको आवाजले निद्रा बिगार्यो भने पक्कै पनि खुसी हुने छैन। तर हामी यसलाई अर्को चुनौतीका रूपमा लिँदै सामना गर्नेछौं," भने।
मौसम पनि ठूलो चुनौती
मेक्सिको सिटीमा आइतबार साँझ चट्याङ, वर्षा र असिनाको सम्भावना उच्च रहेको मौसमविद्हरूले बताएका छन्।
यसअघि खराब मौसमको पूर्वानुमानका कारण फिफाले खेलको समय ६ घण्टा अगाडि सार्ने विषयमा छलफल गरेको थियो। तर इंग्लिस फुटबल एसोसिएसन (एफए) र मेक्सिकन फुटबल महासंघ (एफएमएफ) को असहमतिपछि खेल पूर्वनिर्धारित समयमै सञ्चालन गर्ने निर्णय गरिएको हो।
यद्यपि, मौसम प्रतिकूल बने खेल सुरु हुन ढिलाइ हुन सक्ने सम्भावना भने कायमै छ।
उच्च भूभागको असर
मेक्सिको सिटी समुद्री सतहबाट करिब २,२४० मिटर उचाइमा अवस्थित भएकाले त्यहाँ अक्सिजनको मात्रा कम हुन्छ। विज्ञहरूका अनुसार यस्तो उचाइमा खेल्दा खेलाडीको शारीरिक क्षमता करिब १० प्रतिशतसम्म घट्न सक्छ।
इंग्ल्यान्ड खेल हुनुभन्दा दुई दिनअघि मात्रै मेक्सिको पुगेको छ, जसका कारण टोलीले वातावरणसँग घुलमिल हुने पर्याप्त समय पाएको छैन।
मुख्य प्रशिक्षक थोमस टुहेल ले उच्च भूभाग आफ्नो टोलीका लागि ठूलो चुनौती भएको स्वीकार गर्दै शारीरिक रूपमा त्यसअनुसार अनुकूल हुन नसकेको बताएका छन्।
यसअघि मेक्सिकोले आफ्ना सबै विश्वकप खेल उच्च भूभागमै खेलेकाले घरेलु टोलीलाई यसबाट फाइदा पुग्ने अपेक्षा गरिएको छ।
जासुसीको आशंका पनि
बेलायती सञ्चारमाध्यमका अनुसार इंग्ल्यान्डले आफ्नो रणनीति गोप्य राख्न अमेरिकाको कान्सास सिटी स्थित प्रशिक्षण केन्द्रमै अन्तिम अभ्यास गरेको थियो।
मेक्सिको सिटीको स्थानीय प्रशिक्षण मैदानमा विपक्षी टोलीले अभ्यास अवलोकन गर्न सक्ने आशंकाका कारण प्रशिक्षक थोमस टुहेल ले टोलीलाई ढिलो गरी मेक्सिको पुर्याउने निर्णय लिएको बताइएको छ।
विश्वकपको नकआउट चरणमा प्रवेश गरेसँगै इंग्ल्यान्डले अब मैदानभित्र मेक्सिकोको चुनौतीसँगै मैदानबाहिरको सुरक्षा, मौसम, उच्च भूभाग र मानसिक दबाबसमेत सामना गर्नुपर्ने भएको छ।