लगातारको वर्षापछि आएको बाढीपहिरोले सिलिचोङ गाउँपालिकामा विद्युत, सञ्चार तथा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण स्थानीय जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ ।
सिलिचोङ–१ सिसुवाखोलामा आएको बाढीपहिरोले दुई विद्यालयमा क्षति पुर्याएपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिएका छन् ।
उनका अनुसार पहिरोले गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुनुका साथै केन्द्रीय विद्युत्, माइक्रो हाइड्रो, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित भएको छ, जसका कारण सरकारी सेवा प्रवाह समेत रोकिएको छ ।
पहिरोले गाउँपालिका भित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन् भने दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिकी थप कठिन बनेको छ ।
सिलिचोङ–१ नेवाटारस्थित कालिका माध्यमिक विद्यालयमा पहिरोले १५ वटा कक्षा कोठामा क्षति पुर्याएको छ भने शैक्षिक सामग्रीसमेत नष्ट भएको छ । विद्यालयमा १७० जना विद्यार्थी अध्ययनरत छन् । त्यसैगरी बागेश्वरी आधारभूत विद्यालयमा पनि क्षति पुगेपछि दुवै विद्यालयको पठनपाठन रोकिएको छ ।
बाढीपहिरोका कारण ६ घर विस्थापित भएका छन् भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिलिचोङका तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका १०० भन्दा बढी घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।
जोखिम बढेपछि स्थानीयवासीहरू घर छाडेर सामूहिक रूपमा सुरक्षित स्थानमा आश्रय लिइरहेका छन् । स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले अनुगमन गरिरहेको भए पनि निरन्तर वर्षा र सडक अवरुद्धताका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
गाउँपालिकाले प्रभावित क्षेत्रमा तत्काल अनुगमन, राहत, सुरक्षित स्थानान्तरण र पुनर्स्थापनाका लागि प्रदेश तथा संघीय सरकारसँग सहयोगको आग्रह गरेको छ ।