नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई विद्युत् आपूर्ति अवरुद्ध नगरी नै चालु विद्युत् लाइनमा मर्मत–सम्भार गर्ने अत्याधुनिक प्रविधिको औपचारिक सुरुवात गरेको छ। नेपालमै पहिलो पटक सुरु गरिएको यो प्रविधिबाट अब मर्मतका लागि बारम्बार लाइन काट्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।
प्राधिकरणले कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट उक्त सेवाको शुभारम्भ गरेको हो।
लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार उपभोक्तालाई बिना अवरोध गुणस्तरीय र निरन्तर विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि चालु अवस्थाकै विद्युत् लाइनमा अत्याधुनिक मर्मत उपकरण प्रयोग गरी मर्मत–सम्भार कार्य सुरु गरिएको हो।
उनले विद्युत् आपूर्तिलाई अझ भरपर्दो र गुणस्तरीय बनाउन चालु लाइनमै मर्मत गर्ने प्रणालीलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विस्तार गरिने बताए।
वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझाका अनुसार नमुना परियोजनाका रूपमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरस्थित ११ केभी विद्युत् लाइनमा मर्मत गरी कार्यक्रमको सुरुवात गरिएको हो।
कार्यक्रममा कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठ, उप–कार्यकारी निर्देशक ओझा, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख यादव, बुटवल ग्रिड महाशाखा प्रमुख अनिल बन्जाडेलगायत विभिन्न वितरण केन्द्र तथा आयोजनाका प्रमुखहरूको उपस्थिति रहेको थियो। तालिमप्राप्त प्राविधिकहरूले अत्याधुनिक उपकरण प्रयोग गर्दै चालु लाइनमै सफलतापूर्वक मर्मत कार्य सम्पन्न गरेका थिए।
कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले हाल नमुनाका रूपमा सुरु गरिएको यो प्रविधिलाई यसको प्रभावकारिता र आवश्यकताका आधारमा विशेषगरी सहरी क्षेत्रमा नियमित मर्मत–सम्भारका क्रममा विस्तार गरिने जानकारी दिए।
प्राधिकरणका अनुसार भविष्यमा यो प्रविधिको व्यापक प्रयोग हुन सके मर्मतका लागि अनिवार्य रूपमा गरिने लाइन कटौतीमा उल्लेख्य कमी आउनेछ। यसबाट उपभोक्ताले थप नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।