ड्यानियल मुनोजको निर्णायक गोलको मद्दतमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
ग्वाडालाजारामा भएको खेलमा अधिकांश समर्थकको साथ पाएको कोलम्बियाले सुरुदेखि नै दबाब बनाए पनि लामो समयसम्म गोल गर्न सकेको थिएन। खेलको ७६औँ मिनेटमा मुनोजले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो।
जुआन फर्नान्डो क्विन्टेरोको उत्कृष्ट पासमा बल पाएका मुनोजको बायाँ खुट्टाको प्रहार कङ्गोका डिफेन्डरमा ठोक्किएर दिशा परिवर्तन भएपछि गोलकिपर लियोनेल म्पासी झुक्किए र बल जाली चुम्न पुग्यो।
लगातार दोस्रो जितसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ र अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। यता कङ्गो तेस्रो स्थानमा रहेको छ। नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न कङ्गोले अब अन्तिम समूह खेलमा उज्बेकिस्तानलाई हराउनुपर्ने अवस्था छ।
मुनोज खेलभरि नै कोलम्बियाका सबैभन्दा खतरनाक खेलाडीका रूपमा देखिए। चौथो मिनेटमै उनले टोलीलाई अग्रता दिलाउने अवसर पाए पनि नजिकबाट गरेको प्रहार साइड नेटिङमा पुगेको थियो। त्यसको केही समयपछि उनले बल जालीमा पुर्याए पनि अफसाइड ठहरिएपछि गोल मान्यता पाएन।
पहिलो हाफभरि आक्रामक खेल प्रस्तुत गरेको कोलम्बियाले गोल गर्न नसके पनि दोस्रो हाफमा पनि खेल नियन्त्रणमा राख्यो। ५०औँ मिनेटमा लुइस डियाजले उत्कृष्ट अवसर पाए पनि गोल गर्न सकेनन्।
खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला क्विन्टेरोको चलाखीपूर्ण पासमा मुनोजले गोल गर्दै कोलम्बियालाई बहुमूल्य तीन अंक दिलाए। त्यसपछि कङ्गोले बराबरी गोलका लागि दबाब बढाए पनि कोलम्बियाले आफ्नो अग्रता जोगाउन सफल भयो।
यस विश्वकपमा मुनोजको यो लगातार दोस्रो खेलमा दोस्रो गोल हो। दक्षिण अमेरिकी टोलीमा लुइस डियाज र जेम्स रोड्रिगेजजस्ता चर्चित खेलाडी भए पनि हालसम्म कोलम्बियाका सबैभन्दा प्रभावशाली खेलाडी मुनोज बनेका छन्।
अब कोलम्बियाले समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग शनिबार राति प्रतिस्पर्धा गर्नेछ। त्यही समयमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोले उज्बेकिस्तानको सामना गर्नेछ।